PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

नारायणगढ-मुग्लिन सडकको ४० प्रतिशत काम सकियो, निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने



पहिलोपोस्ट

नारायणगढ-मुग्लिन सडकको ४० प्रतिशत काम सकियो, निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने

  • दिनेश खड्का
काठमाडौं : नारायणगढ-मुग्लिन सडक निर्माण पूरा हुन अझै एक वर्षभन्दा बढी समय लाग्ने भएको छ।
 
तीनवटा निर्माण कम्पनीलार्इ ठेक्का दिइए पनि निर्माणको काम सुस्त हुँदा तोकिएको समयभन्दा बढी समय लाग्ने भएको हो। यो सडक परियोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार २०७५ सालको वैशाखमा मात्रै सडक निर्माण सकिनेछ।
 
भूकम्प र नाकाबन्दीका कारण चार महिना समय थपिएको यो आयोजनाको काम अहिलेसम्म जम्मा चालिस प्रतिशत मात्रै सकिएको छ।

 
राजधानी जोड्ने 'लाइफलाइन'कै रुपमा रहेको सडकखण्ड पुर्निर्माणको काम थालेको दुर्इ वर्ष पूरा भइसकेको छ। तीन अर्ब रुपैयाँको लागतमा पुनर्निर्माण थालिएको यो सडक यही वैशाखमा सक्नेगरी ठेक्का दिइएको थियो।
 
नाकाबन्दीका कारण चार महिना सारेर भदौमा सक्ने गरी फेरि सम्झौता गरिएको थियो। ३३ किलोमिटर सडक फराकिलो बनाउन कामका लागि आँपटारीदेखि दासढुङासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका थिए।
 
तीन खण्डमा निर्माण थालिएको यो सडकको पहिलो सडक खण्डमा ३५ प्रतिशत काम सकिएको छ भने दोस्रोखण्डको ४७ प्रतिशत काम सकिएको छ। तेस्रो ठेकेदार कम्पनीले करिब ३४ प्रतिशत मात्र काम पुरा गरेको छ। यो सडकखण्डबाट दैनिक करिब १० हजार बराबरको संख्यामा सवारी साधन चल्छन्। अहिले एकतर्फी सवारी साधन संचालन गरेर काम भइरहेको छ।
 
यो सडकखण्डको केही स्थानमा पहाड नै काटेर बाटो फराकिलो बनाउन थालिएको छ। तर केही स्थानमा समथल सडकमा समेत निर्माणको काम सकिए पनि कालोपत्रे हुन सकेको छैन। कालोपत्रे नहुँदा यात्रुले धुलोको सास्ती भोगिरहेका छन्। वर्खासम्म पनि कालोपत्रे नभए हिलोले सवारी साधन चलाउन नसक्ने अवस्था आउँछ।
 
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ। एसियन हाइवेअन्तर्गतको एएचटु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्छ।
 
चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell