काठमाडौँ : घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ।
‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा पाँच करोडभन्दा बढीको कारोबार भएको छ। प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग पुग्ने बताए।
औद्योगिक उत्पादन वृद्धि गर्नका लागि उपयुक्त नीति आवश्यक भएको मन्त्री जोशीले बताए। नेपालमा लघु घरेलु उद्योगको अत्यधिक सम्भावना भएको र यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
आगामी १० वर्षमा कोही नेपाली विदेसिनु नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्री जोशीले बताए। साना तथा घरेलु उद्योगलाई प्रवर्द्धन गर्दै उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
समितिका अध्यक्ष दीपेन्द्र आचार्यले आर्थिक क्षेत्रमा कमजोर महिलाको जीवनस्तर उकास्नका लागि प्रदर्शनीबाट सहयोग पुगेको बताए। समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार छ दिनसम्म चलेको सो मेलाको करिब तीन लाख व्यक्तिले अवलोकन गरेका थिए।
२०४२ सालदेखि निरन्तर गरिँदै आएको सो प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन्। यस पटकको प्रदर्शनीमा ७३ जिल्लाका ३०५ प्रदर्शनी कक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका थिए। रासस