PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

कीर्तिमानी धावक हरिबहादुर रोकाय गजराज स्मृति आदर्श व्यक्तित्वबाट सम्मानित



पहिलोपोस्ट

कीर्तिमानी धावक हरिबहादुर रोकाय गजराज स्मृति आदर्श व्यक्तित्वबाट सम्मानित

काठमाडौं : विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय गजराज स्मृति आदर्श व्यक्तित्व अवार्डबाट सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको अवसरमा मंगलबार रोकायलाई सम्मान गरेको हो।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित अवार्ड कार्यक्रममा नेपाल सरकारका पूर्व अर्चमन्त्रि शकर कोइराला एनएनआइपीएका अध्यक्ष दीपक विष्ट लगायतले रोकायलाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरे।

यस्तै गजराज स्मृति प्रतिष्ठानको तर्फबाट उनलाई नगद २५ हजार प्रदान गरियो।

सन् १९५१ मा भारतमा भएको एसियन गेम्समा नेपालको तर्फबाट म्याराथनमा सहभागिता जनाएका गजराज जोशीको स्मृतिमा विगत ६ वर्षदेखि एनएनआइपिएले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ।

सम्मानित भएपछि लगातार ३ पटक एभरेष्ट म्याराथनको स्वर्ण पदक जित्नसफल हरिबहादुर रोकायले खुशी व्यक्त गर्दै अझै पनि आफुमा 'केहि गरौं' भन्ने भावना रहेको बताए।

'मैले गरेको कामको सम्मान पाएँ जस्तो लाग्छ। संघहरुले मात्र नभएर खेलाडीको लागि सरकारले पनि सम्मा गर्नुपर्छ', रोकायले भने। 'अझै पनि देशको लागि केही गरम भन्ने छ। देशलाई चिनाउन सँधै लागिपर्नेछु।'

नेपालमा पनि राम्रा खेलाडी रहेको र उनीहरुले अवसर पाए राम्रो गर्ने उनको भनाइ थियो।

'नेपालका राम्रा खेलाडीले अवसर पाएका छैनन्। उनीहरुलाई पनि खेल्नको लागि उत्प्रेरणाको खाँचो छ। त्यसका लागि सबै लाग्नुपर्छ।'
उनले सम्मानित भएका अन्य खेलाडीलाई अझ राम्रो गर्न हौसला पुग्ने बताए।

विस २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदबाट खेल करियर सुरु गरेका रोकायले दुई पटक विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा समेत सहभागिता जनाएका थिए।

यस्तै विश्वकै उच्च स्थानमा हुने एभरेष्ट म्याराथनमा लगातार ३ पटक जित्न सफल रोकायको नाममा उक्त म्याराथन सबैभन्दा छिटो पुरा गर्ने रेकर्ड समेत छ।

एनएनआइपिएले आफ्नो अमूल्य जीवनलाई खेलमा समर्पित गर्दै खेलाडी तथा खेलकुदमा आदर्श व्यक्तित्वका रुपमा परिचित एक सम्मानित व्यक्तित्वलाई यसैगरी सम्मान गर्दै आएको छ।

यस्तै एनएनआइपिएले नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्‌याउने विभिन्न २२ खेलका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी-२०७२ बाट सम्मान गरेको छ।

भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा सहभागि खेल र खेलाडीको प्रदर्शनको आधारमा उक्त सम्मान गरिएको हो।
जस अनुसार विभिन्न २२ खेलका १/१ खेलाडी सम्मानित भए।

एनएनआइपीएले विगत १० वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले उत्कृष्ट खेलाडीलाई वर्ष खेलाडीबाट सम्मान गर्दै आएको छ।

सम्मानित हुने प्रत्येक खेलाडीले १० हजार नगदसहित मेडन र प्रशसा पत्र प्राप्त गरेका छन्।

उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, एनएनआइपीएका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ लगायतले सम्मान गरे।

सम्मानित हुनेहरुमा फुटबलबाट नवयुग श्रेष्ठ, जुडोकी फुपूल्हामु खत्री, उसुकी निमा घर्ती मगर पौडीकी गौरिका सिंह, एथ्लेटिक्सका हरिकुमार रिमाल, भलिबलकी सरस्वती चौधरी लगायत २२ खेलाडी छन्।

फुपूल्हामु र निमाले १२औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए भने नवयुग सम्मिलित नेपाली यु-२३ फुटबल टोलीले पनि २३ वर्षपछि नै फुटबलमा स्वर्ण पदक जितेका थिए।

उक्त अवसरमा कपन टाइगर्सका तेक्वान्दो खेलाडीहरुले डेमोन्स्ट्रेसन समेत प्रस्तुत गरेका थिए।

सम्मानित हुने खेल र खेलाडीहरु यसप्रकार छन्।

आर्चरी : प्रेमप्रसाद पुन
एथलेटिक्स : हरिकुमार रिमाल
ब्याडमिन्टन : नङ्शलदेवी तामाङ
बक्सिङ : सरस्वती राना
साइक्लिङ : अजय पण्डित क्षेत्री
फुटबलका : नवयुग श्रेष्ठ
ह्यान्डबल : रञ्जना राई
हक्की : कुश्मा राना मगर
जुडो : फुपूल्हामु खत्री
कबड्डी : शान्ति मल्ल
खोखो : अर्पणाकुमारी महतो
लनटेनिस : अभिषेक बास्तोला
सुटिङ : स्नेहाराज्यलक्ष्मी राणा
स्क्वास : अरहान्त सिंह
पौडी : गौरिका सिंह
टेबल टेनिस : दीप साउद
तेक्वान्द : वीरबहादुर महरा
ट्रायथोलन : रोजा केसी
भलिबल : सरस्वती चौधरी
भारोत्तोलन : विकास थापा
रेस्लिङ : सरोज यादव
उसु : निमा घर्ती मगर
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell