काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै मधेस केन्द्रित दलहरुलाई निर्वाचनमा आउन आग्रह गरेका छन्। २२ मिनेट लामो आफ्नो सम्बोधनमा प्रचण्डले मधेसका असन्तुष्टिलाई मतपत्रमार्फत खसाल्न आग्रह गरे। उनले आफ्नो सम्बोधनमा मधेसलाई जोड दिए। अनि आफू मधेसबाटै प्रतिनिधित्व गर्ने व्यक्ति भएको दाबी गरे। सम्बोधनमा २६ पटक मधेस/मधेसी शब्दको उच्चारण गरे। उनले संसद्मा रहेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने प्रतिबद्धतासमेत जनाए। के के भने त प्रचण्डले?
१) संशोधन निष्कर्षमा नपुग्दै किन निर्वाचनको हतारो गरेको होला?
बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते देशभर एकै पटक गर्ने ऐतिहासिक घोषणासँगै आज म आफ्ना केही धारणा राख्न देशवासीसामु उपस्थित भएको छु। संविधान संशोधन तार्किक निष्कर्षमा नपुग्दै सरकारले किन स्थानीय निर्वाचनको हतारो गरेको होला? झन्डै २० वर्षदेखि थाती रहेको निर्वाचन केही समय ढिला गर्दा के पो बिग्रने थियो? भन्ने प्रश्न गर्न नसकिने होइन। वास्तवमा सरकार संविधान संशोधन सफल बनाएरै स्थानीय तहको निर्वाचन घोषणा गर्न प्रतिवद्ध थियो। संशोधन प्रस्तावलाई सफल बनाउन यस बीचमा प्रधानमन्त्रीका रुपमा मैले गरेका सबैथरी प्रयाससँग राष्ट्र जानकार नै छ। तर एकातिर तीन महिना बित्दा पनि एउटा पक्षको अलोकतान्त्रिक हठका कारण संसद्मा संशोधनमाथि छलफल हुन सकेन भने अर्कातिर आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता, स्थानीय र प्रदेश तहको चुनाव नगरी सङ्घीय संसद् गठनै हुन नसक्ने संवैधानिक प्रावधान र वर्षा लागेपछि निर्वाचन गर्न नसकिने परिस्थिति हाम्रा सामु छ। त्यसमा पनि हालै मात्र सर्वोच्च अदालतले संविधानअनुसार स्थानीय तहको निर्वाचनका लागि कुनै आनाकानी नगर्न आदेश दिएको छ।
२) संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउने
सरकार संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउने निर्णयमा पुग्यो। असन्तुष्ट पक्षहरु पनि यो परिस्थितिको जानकार हुनुहुन्छ। त्यसैले निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्दै म यही सम्बोधनमार्फत् उहाँहरुलाई विश्वास दिलाउन चाहन्छु कि यो सरकार निर्वाचन सँगसँगै संविधान संशोधन पनि गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ तुल्याउन हिजो जत्तिकै दृढ र प्रतिवद्ध छ।
३) जनताको ढोकामै विकास र जनताको ढोकामै सरकार
झन्डै एक करोड चालीस लाख मतदाताले पैंतीस हजारभन्दा बढी प्रतिनिधि चुन्ने यो निर्वाचनलाई मैले केवल प्रतिनिधि चुनिने सामान्य निर्वाचन होइन, बरु ‘जनताको ढोकामै विकास र जनताको ढोकामै सरकार’ को युगको प्रारम्भ मानेको छु, किनकि स्थानीय सरकारलाई विश्वका धेरै संविधानले भन्दा हाम्रो संविधानले अत्यन्त धेरै अधिकार दिएको छ ।
४) मधेसबाटै निर्वाचित भएका नाताले असन्तुष्टि नजिकबाट बुझ्दछु
आज तराई–मधेशका जनता, थारु, जनजाति र अन्य असन्तुष्ट पक्षलाई पनि सीधै र विशेष सम्बोधन गर्न चाहन्छु। मधेसलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो? यहाँहरु आफैं जानकार हुनुहुन्छ। चाहे पहिलो होस् वा दोस्रो, हरेक संविधान सभामा मधेस, थारु, जनजाति, उपेक्षित क्षेत्र र वर्गका जायज चासो र चिन्तालाई सम्बोधन गर्न हरेक लडाइँको अग्रमोर्चामा को थियो? पक्कै यहाँहरुलाई सम्झाइरहनु पर्दैन। असन्तुष्ट पक्षलाई समेट्न र संविधानको स्वीकार्यता फराकिलो पार्नकै लागि हामी सरकार परिवर्तन गर्न समेत तत्पर भयौं। अत्यन्त निम्न स्तरका लाञ्छना, घृणित आरोपहरु र निकृष्ट गालीगलौजको सामना गरेर पनि संसद्मा संविधान संशोधनको प्रस्ताव टेबल गर्यौँ। र, त्यो प्रस्ताव पारित गराउन हर क्षण प्रयत्नरत रह्यौं र अझै छौँ। एउटा कालखण्डमा प्रतिपक्षी मोर्चाको संयोजकका रुपमा मैले असन्तुष्टिहरुको नेतृत्व गरेको छु। मधेसबाटै निर्वाचित जनप्रतिनिधि भएका नाताले म अहिलेका असन्तुष्टि र गुनासालाई सबैभन्दा नजिकबाट बुझ्दछु र त्यसको समाधानका लागि देशमा सबैभन्दा बढी क्रियाशील पनि छु ।
५) मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर
हिजो मधेसमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेसी जनताकै काँधमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने सपना देखिरहेको छ। मधेसका जनताको जागरण र साहसको दुरुपयोग गरेर जनताका अधिकार खोस्न चाहिरहेको छ। म मधेसका जनतालाई सोध्न चाहन्छु, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ? के मधेसी जनता यसको हिस्सेदार बन्न सक्छन्? म विश्वास दिलाउँछु, संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पुर्याउने छ। यो निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ। मधेसकेन्द्रित दलहरुले पनि अन्ततः आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउने छन् भन्नेमा सरकार विश्वस्त छ। जनसंख्याका अनुपातमा मधेसमा स्थानीय तहको संख्या बढाउन सरकार गृहकार्यमा छ। मधेसी जनताको विकास र मधेसी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेसी जनताको दैलोमा छ। यो ऐतिहासिक अवसरलाई मधेसी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ।
६) विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ
एकथरी तत्व मधेसको आवेगलाई भड्काएर मुलुक विखण्डन गर्ने दुष्स्वप्न देखिरहेको छ। म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ। हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन। शान्ति सुरक्षामा कुनै कमी हुन दिइने छैन। निर्वाचनमा एक–एक मतको सुरक्षा गरिनेछ।
७) निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव
अबको निर्वाचन केवल प्रधानमन्त्री वा सरकारको परीक्षा होइन। बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो। झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराई छाड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, बरु गौरवबोध छ। बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराई छाड्ने मेरो यो आँट र विश्वासको स्रोत जनता नै हो। मलाई विश्वास छ, निर्वाचनसँगै यो देशका राजनीतिक दलहरुबीच गाली र तालीको होइन। बरु, निर्माणको प्रतिस्पर्धा हुनेछ, विकासको प्रतिस्पर्धा हुनेछ, जनसेवाको प्रतिस्पर्धा हुनेछ। विकास र सरकार अब मतपेटिकाका रुपमा जनताको दैलोमा छ। निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो। यो महोत्सवमा विना संशय, विना धक, विना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।