PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना



पहिलोपोस्ट

​निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं : स्थानीय तह निर्वाचनको आचारसंहिता आजदेखि लागू भएको छ। निर्वाचन आयोगले आजदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। आयोगले जारी आचारसंहिता कार्यान्वयनका सम्वन्धमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा नेपाल सरकारका सचिवहरुसँग छलफल समेत गर्दैछ। 

आचारसंहिता कार्यान्वयनका लागि सवै जिल्ला प्रशासन कार्यालयमा परिपत्र भइसकेको आयोग प्रवक्ता सूर्य प्रसाद शर्माले बताए। 

चुनावका उम्मेदवारको हकमा भने मनोनयन दर्तापछि (वैशाख १६) मात्र आचारसंहिता लागू हुनेछ। 

निर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता आयोगको निर्देशनपछि मात्र खारेज हुनेछ। यसबीचमा चुनावलाई प्रभावित पार्नेगरी कुनै पनि सुरुवा–बढुवालगायतका काम सरकारले गर्न पाउँदैन। नियमित प्रक्रियामा रहेका पदपूर्ति भने रोकिने छैन। सरकारले आयोगको परामर्श र अनुमतिमा भने सरुवा लगायतका काम गर्न सक्छ।  

जारी आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मीलाई लागू हुनेछ। 


यस्तै, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, तथा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई समेत लागू हुनेछ। 


सवारी नचल्ने स्थानमा घोडामा प्रचारप्रसार

आयोगको आचारसंहिता अनुसार चुनाव प्रचारमा बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाइनेछ। यो व्यवस्था महानगरपालिका प्रमुख वा उपप्रमुखको हकमा लागू हुनेछ । यस्तै वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख छ। 

यस्तै, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन्। सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा उल्लेख छ।

एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न पाइनेछैन।


एक लाखसम्म जरिवाना

आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।


उम्मेद्वारको हकमा मनोनयन रद्द गर्नेसम्मको अधिकार निर्वाचन आयोगलाई छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell