काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवाद मुद्दामा सर्वोच्च अदालतले आज यसअघिको अन्तरकालीन आदेश निरन्तर हुने/नहुने आदेश सुनाउँदैछ। विपक्षीसम्मका सबै कानुन व्यवसायीको बहस मंगलबार नै सकिएको छ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा हेर्दाहेर्दैमा मुद्दाको सुनुवाइ निरन्तर हुँदै आएको छ।
आज निवेदकका कानुन व्यवसायीले विपक्षीले बहसका क्रममा उठाएका प्रश्नमा जवाफ दिनेछन्। जवाफ फर्काउने क्रम संक्षिप्त हुने प्रचलन छ। जवाफपछि आजै इजलासले आदेश सुनाउने तयारी रहेको कानुन व्यवसायीहरुको भनाइ छ।
आइजिपीमा सिफारिस जयबहादुर चन्दका पक्षबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, सुशील पन्त लगायतले मंगलबार बहस गरेका थिए। यस्तै, अधिवक्ताहरु बाबुराम कुँवर, सुनीलकुमार पोखरेल लगायतले पनि चन्दको प्रतिरक्षा गरेका थिए।
सरकारी वकिलको बहस अघिल्लो बुधबार नै सकिएको थियो।
कार्की र केसीको संयुक्त इजलासले यसअघि फागुन १ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेश निरन्तरता दिए डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा सिफारिस गर्ने निर्णय रोकिनेछ। आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ।
सरकारले फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी बढुवाका लागि सिफारिस गरेको थियो। आइजिपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो।
फागुन ८ गतेदेखि दुवै पक्षलाई छलफलमा बोलाए पनि प्राविधिक कारणले फागुन ११ गतेबाट मात्र मुद्दाको सुनुवाइ सुरु भएको थियो।