काठमाडौं: सर्वनाममा नाटकघरमा नाटक 'बुख्याचा मन' मञ्चन हुने भएको छ। राज शाहको लेखन तथा निर्देशनमा तयार नाटक फागुन २० गते शुक्रबारदेखि सुरु हुने भएको हो।
दुई साथीको कथामा आधारित नाटक लेखक शाहले करिब दुई बर्षको लामो तयारी पछि मञ्चमा उतार्न लागेको बताइएको छ। समाज र मानवता नाटकको केन्द्रमा रहेको लेखक शाहको दाबी छ। करिब दुई महिनाको कार्यशालाको पश्चात नाटक प्रदर्शनको लागि तयार भएको हो।
'समाजको कथा मात्र होईन कलाको पनि नाटकमा ठाउँ छ', शाह भन्छन्,'पश्चिम नेपालको चर्चित सराय नाच र रोदिलाई रोचकता पूर्वक मञ्चमा उतार्ने प्रयास गरेका छौं।'
नाटकमा आदित्य शर्मा, आरोही शर्मा, शुदर्शन अर्याल, प्रकाश के.सी, शर्मीला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल लौरो, नविन चन्द्र अर्याल, विवेक आर्चाय, सुशिल गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, बिनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको अभिनय रहेको छ।
आउँदो शुक्रबारबाट नाटकको बिहिबार बाहेक हरेकदिन बेलुका ५ बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुने सर्वनामले जानकारी दिएको छ।