PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

आयोगको आचारसंहितामा मन्त्रीका प्रश्नैप्रश्न : घोडा नचढेर याक चढियो भने के हुन्छ?



मनोज सत्याल

आयोगको आचारसंहितामा मन्त्रीका प्रश्नैप्रश्न : घोडा नचढेर याक चढियो भने के हुन्छ?

काठमाडौं : मन्त्रीलाई निर्वाचन क्षेत्र जान समेत रोक लगाइएको आचारसंहिताका विषयमा जानकारी गराउन निर्वाचन आयोगले आज मन्त्रीहरुलाई आयोगमा डाकेको थियो। सो छलफलमा आचारसंहितामाथि असन्तुष्टि जनाउँदै उनीहरुले आयोगका पदाधिकारीहरुलाई प्रश्न उठाएका छन्।

आयोगले आजैबाट लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ। 
 
सुरुमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आचारसंहिताका विषयमा मन्त्रीहरुलाई जानकारी गराए। त्यसपछि मन्त्रीहरुले भने आयोगमाथि प्रश्नैप्रश्न तेर्स्याएका थिए।
 
'निर्वाचन आचारसंहितामा गाडी नचल्ने ठाउँमा घोडा प्रयोग गर्ने भनेको छ,' पर्यटनमन्त्री जीवनबहादुर शाहीले भने, 'घोडा नचढेर याक चढियो भने निर्वाचन आचारसंहिता के हुन्छ?' उनले आयोगको आचारसंहिता 'प्राक्टिकल' नभएको बताए। 'यहाँ सहरमा खाना नखाएर पनि मान्छेले मोटरसाइकल चढ्छन्। दुई वटा मोटरसाइकल भनेर कसरी लागू हुन सक्ला?' उनले भने। शाहीले दुर्गममा हेलिकोप्टर प्रयोगको छुट हुनुपर्ने पनि बताए।
 
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आयोगको आचारंहिताले कार्यालयको कामकारबाही नै प्रभावित हुने अवस्था आउने भन्दै त्यस्तो अवस्थामा के गर्ने भन्दै प्रश्न गरे। 'भक्तपुर क्यान्सर अस्पतालमा अब चाँडै प्रमुख पद खाली हुँदैछ। त्यहाँ प्रमुख नियुक्त नगरे सेवा नै प्रभावित हुन सक्छ,' मन्त्री थापाले भने, 'आचारसंहिता सुरु भयो अब के केही महिना सेवा नै प्रभावित हुन दिने?' मन्त्रालयले सुरु गरेका काम पूर्ण गर्न पाउने कि नपाउने भन्दै थप प्रश्न समेत उनले गरे।
 
'हामीले कान्ति बाल अस्पतालमा आइसियु सेवा सुरु गर्दैछौँ, नर्सको पदपूर्ति सुरु गर्दैछौँ,' मन्त्री थापाले भने, 'के अब पाँच/सात महिना सेवा नै सुरु नगर्ने?'
 
मन्त्रीले निर्वाचन क्षेत्रमा जान नपाउने तथा देश दौडाहामा निस्कन नपाउने कुरामा समेत उनले प्रश्न उठाएका छन्।
 
'देशभर पार्टीको कार्यक्रममा पनि जानु छ, जिल्ला-जिल्लामा मन्त्रालय अन्तर्गनकै निकायका कार्यक्रम पनि छन्, अब के जानै नपाउने?' थापाको प्रश्न थियो।
 
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले पनि मन्त्रालयले पुरस्कार तथा पदक वितरण गर्न नपाउने आचारसंहिताका विषयमा प्रश्न उठाए, 'हामीले खेलाडीलाई पुरस्कार घोषणा गरिसकेका छौँ, अब बाँड्न पाउने कि नपाउने?'
 
महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले निर्वाचन क्षेत्र जान नपाउने आचारसंहितामा गम्भीर प्रश्न उठाए। 'म समानुपातिक तर्फको सांसद् पूरै देश मेरा लागि निर्वाचन क्षेत्र हो,' मन्त्री खड्काले भने, 'अब म कुन निर्वाचन क्षेत्रमा जान पाउने, कुनमा जान नपाउने?'
 
'देशमा हुने कार्यक्रममा जान नपाउने हो भने मेरो के काम?' भन्दै मन्त्री खड्काले असन्तुष्टि राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell