PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

प्रतिबन्धित भारुको समस्या हल गर्न आएको भारतीय टोलीको 'बैंकर्ससँग भेटघाट छैन', सचिवालय भन्छ- निम्तो छैन



पहिलोपोस्ट

प्रतिबन्धित भारुको समस्या हल गर्न आएको भारतीय टोलीको 'बैंकर्ससँग भेटघाट छैन', सचिवालय भन्छ- निम्तो छैन

काठमाडौं : प्रतिबन्धित पाँच सय र हजार दरको नोटको सटहीको प्राविधिक पक्ष बुझ्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डिया (आरबिआर्इ) को दुर्इ सदस्यीय टोलीले नेपाल बैंकर्स संघसँग भेट गर्ने सार्वजनिक भए पनि अहिलेसम्म कुनै निम्ता नआएको बैंकरहरुले बताएका छन्।

भारुका विषयमा नेपाली बैंकर्स संघ पनि कुराकानी गर्ने कार्यक्रम तय भएको राष्ट्र बैंकले जनाएको थियो। तर बैंकर्स संघको सचिवालयमा यस बारेमा कुनै निम्तो आएको छैन। जबकी बुधबार बिहान नै भेट्ने कार्यक्रम तय भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका थिए।

बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले भेटघाटको कार्यक्रमको बारेमा जानकारी नभएको बताए। सचिवालयले पनि भेटघाट कार्यक्रमका बारेमा थाहा नभएको जानकारी दिएको छ। टोली भोली विहान फर्किँदैछ।

मंगलबार साँझ आरबिआर्इका करेन्सी म्यानेजमेन्ट विभाग र बैंक सुपरभिजन विभागका अधिकारी नेपाल आएका हुन्। ती अधिकारीले राष्ट्र बैंक र अर्थमन्त्रालयका उच्च अधिकारीसँग प्रारम्भिक चरणको छलफल गरेका थिए। आरबीआर्इका दुवै जना प्राविधिक तहकै व्यक्ति हुन्। आरबीआर्इका यी अधिकारीले प्रतिवन्धित भारु साट्नका लागि जोखिम रहे/नरहेको प्रतिवेदन बुझाउने छ।
 
यही प्रतिवेदनका आधारमा भारत सरकारले नेपालमा रहेको प्रतिवन्धित भारु साट्ने बारे निर्णय गर्नेछ। त्यसपछि सर्वसाधरणसँग रहेको भारु सटहीको बाटो खुल्नेछ। ती अधिकारी र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र अर्थमन्त्रालयका सहसचिव आनन्द ढकालबीच छलफल भएको हो।
 
ती अधिकारीले प्रतिवन्धित भारु भारतबाट आएर सटही हुने जोखिमका बारेमा चासो राखेको ढुंगानाले बताए। उनका अनुसार नेपालीसँग मात्रै भएको भारु साट्नका लागि कुनै समस्या नभएको उनीहरुले जवाफ दिएका छन्। ती अधिकारीले नेपाली र भारतीयको खाता चिन्ने आधार के कस्ता रहेका छन् भन्ने प्रश्न राखेका थिए।
 
ढुंगानाका अनुसार कुनै व्यक्तिले झुटो विवरण दिएमा कारबाही पक्रिया कस्तो रहन्छ भनेर प्रश्न गरेका थिए। ती अधिकारीले नेपालको नो योर कस्टुमर (केवार्इसी) र एन्टी मनी लाउन्ड्रिङलगायतका कानुनबारे जिज्ञासा राखेका थिए।
 
ढुंगानाले आरबिआर्इको टोलीले पैसा सटही गर्न अनुमति दिनेवित्तिकै प्रतिवन्धित भारु सटहीका लागि आह्वान गर्ने बताउँदै सबै प्रावधान पूरा गरेपछि ती नोट साटिने बताए।
 
उनले बैंकिङ प्रणालीमा रहेको भारु साट्न कुनै समस्या नरहेको बताउँदै सर्वसाधरणसँग रहेको भारु साट्न मात्रै राष्ट्र बैंकले बढी जोड दिएको बताए।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन र भष्ट्राचार रोक्न पाँच सय र हजारको नोट प्रतिबन्ध लगाएका थिए। यो प्रतिबन्धसँगै नेपालमा रहेको प्रतिबन्धित भारु सटही नहुँदा सर्वसाधरण जनता समस्यामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell