PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

चितवनमा तीन लाख १६ हजार मतदाता, निर्वाचनमा २४ दलले प्रतिस्पर्धा गर्ने



रासस

चितवन : चितवन जिल्लामा मतदाताको सङ्ख्या तीन लाख १६ हजार छ सय ५३ पुगेको छ।
 
करिब उन्नाइस वर्षको अवधिमा मतदाताको सङ्ख्या ७५ हजार छ सय २५ ले वृद्धि भएको छ। २०५४ सालको स्थानीय निर्वाचनमा दुई लाख ४१ हजार २६ जना मतदाता थिए।
 
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कानुसार २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार आठ सय तीन मतदाता थिए। तीमध्ये दुई लाख १६ हजार पाँच सय २२ मत खसेको थियो। खसेका मतमध्ये दुई लाख सात सय ५९ मत सदर भएको थियो। त्यसअघि २०६४ मा भएको संविधानसभा निर्वाचनका समयमा जिल्लामा तीन लाख ८२ हजार पाँच सय ८० मतदाता थिए।
 
निर्वाचन कार्यालयका अनुसार आउँदो स्थानीय निर्वाचनका लागि जिल्लामा २४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन्। २०५४ मा नौ राजनीतिक दल स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए।
 
तत्कालीन समयको स्थानीय निकायको निर्वाचनमा १३ इलाका, ३६ गाविस र दुई नगरपालिका थिए जसमा ७० मतदान केन्द्रमार्फत निर्वाचन गराइएको थियो। अघिल्लो स्थानीय निर्वाचनमा मतदाता नामावलीमा नाम दोहोरो, तेहेरो रुपमा परेकाले मतदाता सङ्ख्या बढी भएको र अहिले नागरिकता लिई आफू स्वयं नामावली दर्ता गर्न आउनुपर्ने भएकाले त्यस्तो समस्या नहुने कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए।
 
अहिले राज्य पुनःसंरचना आयोगले दिएको संरचनाको ढाँचा परिवर्तन हुने हो वा होइन भन्ने यकिन नभएका कारण मतदानस्थल र केन्द्र तय भइनसकेको उनले बताए। निर्वाचनको मिति तय भएसँगै कार्यालयले मतदाता नामावली सङ्कलनको कामलाई रोकी अद्यावधिक गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell