PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

असुरक्षित गर्भपतन बढ्दै



रासस

बेसीसहर (लमजुङ) : जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ।
 
असुरक्षित रुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो।
 
जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभए पनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन्।
 
अस्पतालको तथ्याङ्कअनुसार गत साउन यता ५६ जनाले असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या भएर थप उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा आएका हुन्। गर्भपतनपछि समस्या भएर आएकाको पनि तथ्याङ्क राखिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताए।
 
लमजुङमा सुरक्षित गर्भपतनको लागि पाँचवटा स्वास्थ्य एकाइले मात्र अनुमति पाए पनि निजी मेडिकल हल तथा क्लिनिकमा गएर असुरक्षित गर्भपतन गराउने बढिरहेको अनुमान गरिएको छ।
 
'सरकारले १२ हप्तासम्मको गर्भपतनको निम्ति निःशुल्क व्यवस्था गरेको छ' जनस्वास्थ्य प्रमुख चापागाईंले भने 'तर अस्पतालको तथ्याङ्कअनुसार पैसा तिरेर अवैधानिक र असुरक्षित गर्भपतन गराउने अधिक भएको अनुमान गरेका छौँ।'
 
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सदरमुकाम बेसीसहरको (लमजुङ मोडेल अस्पताल) निजी अस्पतालले सुरक्षित गर्भपतनका लागि मान्यता पाएको छ। सोबाहेक सुन्दरबजार अस्पताल, चिसंकु स्वास्थ्यचौकी, धमिलीकुवा स्वास्थ्यचौकी र खुदी स्वास्थ्यचौकीले सुरक्षित गर्भपतनका लागि अनुमति पाएका छन्।
 
अवैधानिक र असुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था पहिचान भएकाले त्यस्ता संस्थालाई छानबिन गरी कारबाही गरिने जनस्वास्थ्य प्रमुख चापागाईंले बताए।
 
सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको निम्ति शुल्क नलाग्ने घोषणा गरेपनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अघिल्ला वर्षको तुलनामा घटेको पाइएको छ।
 
कार्यालयका अधिकृत कौशल भण्डारीका अनुसार चालु आवमा लमजुङमा गर्भपतन गराउनेको सङ्ख्या १०० पनि कटेको छैन। उनले जिल्लाका पाँच वटै सेवा केन्द्रबाट करिब ७५ जनाले सुरक्षित गर्भपतन गराएको बताए। यसअघिको तथ्याङ्कअनुसार जिल्लामा मासिक ५५ भन्दा बढीले गर्भपतन गराएका थिए।
 
असुरक्षित यौन सम्पर्क, छोरा पाउनुपर्ने परम्परागत मान्यताजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन्। गर्भपतन गर्नेमा २० देखि ४० वर्र्ष उमेर समूहका बढी रहेको तथ्याङ्कले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell