काठमाडौं : आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन अहिले केही क्याम्पसमा सुरु भएर पनि नभएझैँ भएको छ। राजधानीका मुख्य चर्चामा रहेका क्याम्पसमा चुनाव रोकिएको छ। यसका कारण चहलपहल कम देखिएको छ।
घोषित मितिमा नै निर्वाचन नहुनुमा विद्यार्थी संगठनको दम्भ र अडान नै रहेको छ। निर्वाचन नहुनुको दोष विद्यार्थी संगठनहरुले एकअर्कालाई थोपरेर पन्सिने प्रयास गरे पनि उनीहरु हरेकले चुनाव प्रभावित पार्ने प्रयास गरेका छन्।
देशभरका ६१ आंगिक क्याम्पसमध्ये २३ वटा क्याम्पसमा मात्र आज निर्वाचन हुँदैछ। बिहानबाट सुरु भएको निर्वाचन कति वटा क्याम्पसमा सम्पन्न हुने कुनै टुंगो छैन।
निर्वाचन हुँदै गर्दा ललितकता क्याम्पसमा मतदान प्रक्रिया अवरुद्ध भएको छ। मतदानको समय हुनै लाग्दा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले ताला लगाएपछि मतदान प्रभावित भएको हो।
स्ववियु निर्वाचन समिति संयोजकसमेत रहेकी त्रिभुवन विश्वविद्यालयकी रेक्टर डा. सुधा त्रिपाठीले विद्यार्थी संगठनको विवाद नै निर्वाचन नहुनुको कारण खुलाइन्। उनले भनिन्, ‘विद्यार्थी संगठनहरु नै क्याम्पसमा ताल्चा लगाएर बसेका छन्, कसरी निर्वाचन गर्नु?’
बखेडा झिक्ने को?
विवाद रहेका क्याम्पसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तकारी विप्लव, अखिल क्रान्तकारी वैद्यदेखि मधेसी विद्यार्थीहरुका कारण चुनाव प्रभावित भएको छ।अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेत नेविसंघ र अनेरास्ववियुको दम्भका कारण चुनाव प्रभावित भएको आरोप लगाउँछन्। 'अधिकांश कलेजमा ताल्चा छ, नेविसंघ आन्तरिक विवादले र अनेरास्ववियु हार्ने डरले चुनाव गर्न चाहिरहेका छैनन्।’
राजधानीका पशुपति, नेपाल ल क्याम्पसमा नेविसंघले ताल्चा लगाएको छ। नेविसंघका उपाध्यक्ष उर्मिला थपलियाले भने नेविसंघले चुनावमा गर्ने रोक्यो भन्ने गलत प्रचार गरेर बदनाम गर्न अरु संगठन लागेको बताइन्। उनले भनिन्, 'पशुपति र मीनभवन बाहेक अन्य कुनै क्याम्पसमा हाम्रो गुटबन्दीको असर परेको छैन।' थपलियाले अधिकांश क्याम्पसा उमेर हदको कारण निर्वाचन प्रभावित भएको बताइन्।
शनिबार चुनावकै विषयलाई लिएर रत्न राज्यलक्ष्मी क्याम्पसमा आगजनी गरिएको थियो। अनेरास्ववियुको पकड रहेको आरआर क्याम्पसमा नेविसंघ र क्रान्तिकारीले एलायन्स गर्ने भएपछि अनेरास्ववियु आफैँले तालाबन्दी गरेको छ। तथापि अनेरास्ववियुका महासचिव ऐन महर भने नेविसंघका कारणले नै निर्वाचन नभएको दाबी गर्छन्।
यी हुन् निर्वाचन रोकिएका क्याम्पस
- पशुपति बहुमुखी क्याम्पस
पशुपति क्याम्पसमा पार्टीका तीन गुट निकटको विद्यार्थी संघ नेतृत्वबीच नै संघर्ष हुँदा चुनाव हुन सकेन। सभापति देउवा निकटका अध्यक्ष नैनसिंह महर, वरिष्ठ नेता रामचन्द्र पौडेल निकटकी उपाध्यक्ष उर्मिला थपलिया र कृष्ण सिटौला निकटका महामन्त्री कुन्दनराज काफ्लेबीच टिकट वितरणमा प्रतिस्पर्धा हुँदा चुनाव हुन सकेन। त्यही कारण पशुपति क्याम्पसमा वैद्य निकटको अखिल क्रान्तिकारी, विप्लव निकटको अखिल क्रान्तिकारीसँगै नेविसंघले पनि तालाबन्दी गरेको छ।
- त्रिवि केन्द्रीय क्याम्पस
यसपटक स्ववियुमा कायम भएको उमेर हदका कारण नेविसंघ र अखिलका ५ देखि ७ जना प्रभावशाली नेता उठ्न नपाउने भएपछि त्रिविको चुनावमा त्यसको गहिरो प्रभाव देखिएको हो।
- रत्न राज्यलक्ष्मी क्याम्पस
अनेरास्ववियुको पकड रहेको रत्न राज्यमा नेविसंघ र क्रान्तिकारीले एलायन्स गरेर उम्मेदवार उठाउने सहमति गरेको पत्तो पाएपछि प्रभाव जोगाउन अनेरास्विवयु आफैँले तालाबन्दी गरेको छ। त्यही कारण रत्न राज्यमा निर्वाचन प्रक्रिया रोकिएको हो।
- शंकरदेव क्याम्पस
- अमृत साइन्स क्याम्पस
- सरस्वती बहुमुखि क्याम्पस
एमाले अध्क्षय केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कसको पकडमा संगठन रहने भन्ने विवादका कारण निर्वाचन प्रभावित भएको हो।
- ठाकुरराम बहुमुखी क्याम्पस
आगजनीपछि निर्वाचन अधिकृतले समेत राजीनामा दिएका छन्। निर्वाचन सार्नुपर्ने माग गर्दै मधेसी दल आबद्ध विद्यार्थी संगठन आन्दोलनमा छन्।
- महेन्द्र मोरङ बहुमुखी क्याम्पस
मधेसी मोर्चा आबद्ध विद्यार्थीले केही दिनदेखि गरेको तालाबन्दीका कारण स्ववियु कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको हो।
सम्बन्धित समाचार
- चितवनका क्याम्पसमा स्ववियु निर्वाचन रोकियो, वीरेन्द्र क्याम्पस प्रमुखको कुर्सीमा आगजनी
- विद्यार्थीले दिनभर बन्धक बनाएका क्याम्पस प्रमुख सहितका पदाधिकारी मुक्त, प्रहरीले फोड्यो ताला
- स्ववियु निर्वाचन : काभ्रेमा १२ क्याम्पसमा मतदान
- १५ फोटोमा स्ववियु निर्वाचन : कतै उत्साह, कतै सुनसान
- देशभर स्ववियु चुनाव हुँदै, त्रिविका ६१ आंगिकमध्ये ३७ क्याम्पसमा चुनाव नहुने