
काठमाडौँ : साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालको उपन्यास ‘क्रान्तिवीरको सपना’ आज राजधानीमा सार्वजनिक भएको छ।
रामप्रसाद राईको १०८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता सुवास नेम्वाङले उपन्यास सार्वजनिक गरेका हुन्। उपन्यास प्रजातान्त्रिक आन्दोलनका सक्रिय योद्धा रामप्रसाद राईको जीवनीमा आधारित रहेको छ।
उपन्यास विमोचन गर्दै पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचन गरे मात्र राईको क्रान्तिको सपना पूरा हुने बताएका छन्। नेम्बाङले राईले देखेको गणतन्त्रको सपना अहिलेसम्म पूरा नभएको धारणा व्यक्त गरे। उनले ठूलो अवसर पाउँदापाउँदै पनि राईले नेपाली जनताका निम्ति चालेको कदम क्रान्तिवीरको कदम भएको उल्लेख गरे।
‘क्रान्तिवीरको सपना’ उपन्यासका स्रष्टा प्रदीप नेपालले एकतन्त्रीय राणाशासनको अन्त्य गर्न तथा प्रजातन्त्र स्थापनाका निम्ति राईले गरेको योगदान अविस्मरणीय रहेको बताए। उनले राईका बारेमा थुप्रै कृति प्रकाशित भइसकेको बताउँदै उनीबारे वृत्तचित्र र चलचित्र निर्माण गर्न आवश्यक रहेको बताए।
समीक्षक डा. देवी नेपालले प्रदीप नेपाल नेपाली साहित्यका एक विशिष्ट प्रतिभा भएको बताउँदै मुलुकको पूर्वी भागको क्रान्तिको इतिहास बुझ्न उनको यो पुस्तक ऐतिहासिक दस्तावेज भएको बताए।
विमोचन कार्यक्रमको आयोजना रामप्रसाद राई स्मृति प्रतिष्ठानले गरेको थियो।