PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

केन्द्रीय सुरक्षा समिति बैठक : सेनाको ब्याकफोर्समा प्रहरी खटिने निर्वाचन सुरक्षा योजना पारित



पहिलोपोस्ट

केन्द्रीय सुरक्षा समिति बैठक : सेनाको ब्याकफोर्समा प्रहरी खटिने निर्वाचन सुरक्षा योजना पारित

काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना  पारित गरेको छ। गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना सहित गृह अन्तर्गतका तीन निकाय परिचालन गर्नेगरी बनाएको योजना पारित गरेको हो।

योजनाले निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी यस अगाडिको निर्वाचनमाझै नेपाल प्रहरीलाई दिएको छ। सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सघाउने छ। नेपाली सेना समेत निर्वाचन सुरक्षामा सहयोगी भुमिकामा परिचालित हुने योजनामा उल्लेख छ।

२०७४ बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा सबै सुरक्षा निकायका २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यसमा  ७५ हजार म्यादी प्रहरी खटिने छन्।

गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए।

बैठकमा गृहसचिब लोकदर्शन रेग्मी, रक्षासचिब श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेब महत लगायत उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell