
नेपालगन्ज : भारतको रेलवे टीमले प्रधानमन्त्री कप चौथो इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।
नेपालगन्जमा सम्पन्न फाइनलमा रेलवेले विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई ३-० को सेटमा हराउँदै उपाधि जितेको हो।
तेस्रो संस्करणमा रेलवेले एपीएफलाई नै पराजित गर्दै उपाधि जितेको थियो।
नेपालगन्ज कर्भडहलमा बुधवार भएको फाइनल खेलको प्रतिस्पर्धात्मक पहिलो सेटमा रेलवेले एपीएपलाई २७–२५ ले हरायो। पहिलो सेट जितेर उच्च मनोबल बनाएको रेलवेले दोश्रो सेट २५–१७ ले तथा तेश्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो।
उपाधिसँगै च्याम्पियन रेलवे टोलीले नगद १ लाख ११ हजार हात पार्यो भने उपविजेता बनेको एपीएफले ५५ हजार रुपैंया प्राप्त गर्यो।
तेश्रो स्थानको लागि बुधबारै भएको विभागीय भिडन्तमा नेपाल पुलिसले नेपाल आर्मीमाथी ३–१ पुलिसले पहिलो सेट २५–१८ ले जित्दै अग्रता लिएपनि आर्मीले पुनरागमन गर्दै दोस्रो सेट २५–२० ले जित्दै १ १ को बराबरी गर्यो। तर तेस्रो र चौथो सेट पुलिसले क्रमशः २५–१५ र २५–२३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो।
तेस्रो स्थान हात पार्न सफल पुलिसले नगद ३५ हजार प्राप्त गर्यो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी च्याम्पियन टोली रेलवेकी अनुश्री घोषले सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद १० हजार हात पारिन्।
त्यस्तै विधागत विधातर्फ एपीएफ र रेलवेकै खेलाडीको वर्चस्व रह्यो। एपीएफबाट सरस्वती चौधरी उत्कृष्ट स्पाईकर, उषा बिष्ट उत्कृष्ट ब्लकर, नेबिका चौधरी उत्कृष्ट सर्भर घोषित भइन् भने रेलवेकी रिचु म्यारी उत्कृष्ट सेटर तथा पिरोस्मिता बापरी उत्कृष्ट डिफेन्स चुनिइन्।
विधागत उत्कृष्ट सबै प्रत्येक खेलाडीले नगद २ हजार प्राप्त गरे।
विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, सदस्यद्धय बिनोद मैनाली, शान्ति सिंह, नेपाल भलिबल संघका बरिष्ट उपाध्यक्ष यमवहादुर गुरुङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन, मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष भिम ओली, आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीलगायतले पुरस्कृत गरे।
लिगकम नकआउटको आधारमा फागुन १४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालको ४ र भारतको २ गरी कूल ६ टोलीको सहभागिता थियो।