PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

मन्त्रीसँग झोक्किए प्रमुख निर्वाचन आयुक्त यादव, सोधे : मन्दिरको उद्घाटन ठूलो हो?



पहिलोपोस्ट

मन्त्रीसँग झोक्किए प्रमुख निर्वाचन आयुक्त यादव, सोधे : मन्दिरको उद्घाटन ठूलो हो?

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव बुधबार मन्त्रीहरुसँग झोक्किए। निर्वाचन आचारसंहिताबारे जानकारी गराउन डाकिएका मन्त्रीहरु आचारसंहिता कडा भएको भन्दै प्रतिवादमा उत्रिएपछि प्रमुख आयुक्त यादव हकार्ने शैलीमा प्रस्तुत भए।

मन्त्रीहरुले निर्वाचन क्षेत्रमा गएर प्रचार गर्न पाउनुपर्ने बताए। आफूहरुको महिनौँअघि तय भएको राजनीतिक कार्यक्रम र उद्घाटनमा जान दिन आग्रह गरे। साथै कतिपय राजनीतिक नियुक्ति गर्नुपर्ने पद खाली भएको अवस्थामा नियुक्ति सहजीकरणका लागि आग्रह गरे।

आयोगले डाकेको बैठकमा प्रधानमन्त्री नपुगे पनि २ उपप्रधान मन्त्रीसहित २७ मन्त्री र राज्यमन्त्री पुगेका थिए। आयोगले बुधबार लागू गरेको आचारसंहितामा मन्त्रीहरुलाई निर्वाचन क्षेत्र जान रोक लगाइएको छ।

मन्त्रीहरु सवाल जवाफमा उत्रन थालेपछि आयुक्त यादवले बोल्नमा समेत कडाई गरे।

उनले मन्त्रीहरुलाई प्रतिप्रश्न गरे– 'निर्वाचन गराएर संविधानको सर्वोपरि बनाउने काम ठूलो कि मन्दिर उद्घाटन?'

यादवल आचारसंहितामा मन्त्रीहरुले प्रश्न गरेपछि कडा रुपमा प्रस्तुत भए।  '४३ मन्त्रीहरु ७ सय २१ स्थानीय तहमा जाने भए आफैँ निर्वाचन गराउनुहोस्। आयोग किन चाहियो?'

उनले मन्त्रीहरु निर्वाचन क्षेत्र गएर एउटा उम्मेद्वारको पक्षमा लबिङ गर्दा अर्को उम्मेद्वारमाथि दबाब पर्ने भएकाले क्षेत्र जान रोक लगाइएको बताए। उनले निर्वाचन कसूरसम्बन्धी ऐनमा नै सरकारी गाडी प्रयोग गर्न रोक लगाइएकाले मन्त्रीहरु जान नपाउने निर्णय सही भएको दाबी गरे।

उनले मन्त्रीहरु सपथ पछि दलको नेताको हैसियतमा नरहने पनि सम्झाए। 'जनताको ट्याक्स खाएर कुनै पार्टी विशेषको कार्यक्रममा जान निषेध छ', यादवले भने, 'राजनीतिक प्रचार प्रसार गर्न दलका नेताहरु जानुहुन्छ। मन्त्री पदको सपथ लिने अनि फेरि गएर खास उम्मेद्वार र निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न पाइँदैन।'

उनले मन्त्रीहरुलाई जिल्लाको सदरमुकामबाट बाहिर जान आचारसंहिताले रोकेको बताए। 'सिडिओहरुलाई पनि हामी आचारसंहिताभित्र रहेर मन्त्रीहरुको आदर सत्कार गर्न भन्छौँ', उनले मन्त्रीहरुलाई भने।

उनले नयाँ पदपूर्तीको काम नगर्न समेत मन्त्रीहरुलाई चेतावनी दिए। 'अन्तर्वार्ता नै गर्नु भएको छ भने पनि रिजल्ट नगर्नुस्', यादवले भने, 'नेपालमा भनेको पावरको मिस युज हुनसक्छ।'

शिक्षा राज्यमन्त्री धनमाया विकले आफ्नो एउटा विद्यालयको कार्यक्रममा जाने पहिला नै तय भएको बताइन्। जवाफमा यादवले भने– जान पाइँदैन। स्कुलको कार्यक्रममा जान पाइँदैन।

मन्त्री गगन थापाले स्वास्थ्यसम्बन्धी विभिन्न उद्घाटन कार्यक्रममा सहभागी हुनुपर्ने अवस्थाबारे जानकरी गराए। यादवले भने – 'भिटामिनका जस्ता रेगुलर कार्यक्रम रेगुलर संयन्त्रबाटै चल्न दिनुस्। तर उद्घाटन गर्ने कार्यक्रममा नजाउँ। शिलान्यास उपस्थितमध्ये जेष्ठ नागरिकलाइ गराउँ न। मन्त्री किन? उ पनि नेपाली नागरिक हो नि।'

महिला बालबालिका मन्त्री कुमार खड्काले आफू समानुपातिक सांसद भएकाले एउटा निर्वाचन क्षेत्र नभएकाले देशभर नै निर्वाचन क्षेत्र रहेको बताए। तर यादवले जवाफ दिँदै गर्दा खड्काले फेरि बोल्न माइक अन गरे। यादव झोक्किए। उनले सीधा भने– 'मन्त्रीजी मसँग होइन। प्रधानमन्त्रीसँग प्रश्न गर्नुस्। क्याविनेटमा कुरा गर्नुस्। यो निर्देशन हो। आदेश हो।'

मन्त्री जीवनबहादुर शाहीले हेलिकप्टर प्रयोग गर्न दिन माग गरे। तर यादवले सीधा र ठाडो जवाफ फर्काए– 'हेलिकप्टर प्रयोग गर्न कसैले पाउँदैन। आयोगले मात्र पाउँछ।'

यादवले संविधानसभाको दोश्रो निर्वाचनमा हेलिकप्टर प्रयोग गरेका मन्त्रीलाई एयरपोर्टबाट फर्काइएको उदाहरणसमेत दिए।
मन्त्रीहरुलाई आचारसंहिता पढाएपछि यादवले अन्त्यमा भने– 'आचारसंहिताको अज्ञानता माफी हुन्न।'
 

के भन्छन् मन्त्रीहरु?

'निर्वाचन आचारसंहितामा गाडी नचल्ने ठाउँमा घोडा प्रयोग गर्ने भनेको छ,' पर्यटनमन्त्री जीवनबहादुर शाहीले भने, 'घोडा नचढेर याक चढियो भने निर्वाचन आचारसंहिता के हुन्छ?' उनले आयोगको आचारसंहिता 'प्राक्टिकल' नभएको बताए। 'यहाँ सहरमा खाना नखाएर पनि मान्छेले मोटरसाइकल चढ्छन्। दुई वटा मोटरसाइकल भनेर कसरी लागू हुन सक्ला?' उनले भने। शाहीले दुर्गममा हेलिकोप्टर प्रयोगको छुट हुनुपर्ने पनि बताए।
 
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आयोगको आचारसंहिताले कार्यालयको कामकारबाही नै प्रभावित हुने अवस्था आउने भन्दै त्यस्तो अवस्थामा के गर्ने भन्दै प्रश्न गरे। 'भक्तपुर क्यान्सर अस्पतालमा अब चाँडै प्रमुख पद खाली हुँदैछ। त्यहाँ प्रमुख नियुक्त नगरे सेवा नै प्रभावित हुन सक्छ,' मन्त्री थापाले भने, 'आचारसंहिता सुरु भयो अब के केही महिना सेवा नै प्रभावित हुन दिने?' मन्त्रालयले सुरु गरेका काम पूर्ण गर्न पाउने कि नपाउने भन्दै थप प्रश्नसमेत उनले गरे।
 
'हामीले कान्ति बाल अस्पतालमा आइसियु सेवा सुरु गर्दैछौँ, नर्सको पदपूर्ति सुरु गर्दैछौँ,' मन्त्री थापाले भने, 'के अब पाँच/सात महिना सेवा नै सुरु नगर्ने?'
 
मन्त्रीले निर्वाचन क्षेत्रमा जान नपाउने तथा देश दौडाहामा निस्कन नपाउने कुरामा समेत उनले प्रश्न उठाएका छन्। 'देशभर पार्टीको कार्यक्रममा पनि जानु छ, जिल्ला-जिल्लामा मन्त्रालय अन्तर्गतकै निकायका कार्यक्रम पनि छन्, अब के जानै नपाउने?' थापाको प्रश्न थियो।
 
युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपालीले पनि मन्त्रालयले पुरस्कार तथा पदक वितरण गर्न नपाउने आचारसंहिताका विषयमा प्रश्न उठाए, 'हामीले खेलाडीलाई पुरस्कार घोषणा गरिसकेका छौँ, अब बाँड्न पाउने कि नपाउने?'
 
महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले निर्वाचन क्षेत्र जान नपाउने आचारसंहितामा गम्भीर प्रश्न उठाए। 'म समानुपातिकतर्फको सांसद् पूरै देश मेरा लागि निर्वाचन क्षेत्र हो,' मन्त्री खड्काले भने, 'अब म कुन निर्वाचन क्षेत्रमा जान पाउने, कुनमा जान नपाउने?'
 
'देशमा हुने कार्यक्रममा जान नपाउने हो भने मेरो के काम?' भन्दै मन्त्री खड्काले असन्तुष्टि राखेका थिए।

के छ आचारसंहितामा?

निर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता आयोगको निर्देशनपछि मात्र खारेज हुनेछ। यसबीचमा चुनावलाई प्रभावित पार्नेगरी कुनै पनि सुरुवा–बढुवालगायतका काम सरकारले गर्न पाउँदैन। नियमित प्रक्रियामा रहेका पदपूर्ति भने रोकिने छैन। सरकारले आयोगको परामर्श र अनुमतिमा भने सरुवालगायतका काम गर्न सक्छ।

आयोगको आचारसंहिताअनुसार चुनाव प्रचारमा बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाइनेछ। यो व्यवस्था महानगरपालिका प्रमुख वा उपप्रमुखको हकमा लागू हुनेछ। यस्तै वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख छ।  आचारसंहिता उल्लंघन गरे निर्वाचन आयोगले १ लाख सम्म जरीवना गराउन सक्नेछ।

पढ्नुस् के छ आचारसंहितमा? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell