
काठमाडौं : उर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले आगामी दुई वर्षभित्र नेपालबाट एलपी ग्याँस हटाउने घोषणा गरेका छन्।
जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज) नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले उक्त घोषणा गरेका हुन्।
'राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक' तथा 'नेपालको पानी जनताको लगानी' विषयक अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले प्रत्येक परिवारलाई एक लाख रुपैयाँ अनिवार्य शेयर हाल्ने गरी तिला जलविद्युत आयोजना सुरु गरिसकेको भन्दै, प्रति युनिट २ रुपैयाँ ५० पैसा लागत पर्ने १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजनामा पनि प्रत्येक घरबाट एक लाख रुपैयाँ शेयर हाल्न लगाई आयोजना निर्माण गर्ने घोषणा गरेका छन्।
शर्माले कर्णाली आयोजनाका लागि प्रतिपरिवार एक लाख रुपैयाँ शेयर हाल्दा ६ खर्व रूपैयाँ उठ्ने भन्दै आफू मन्त्रीबाट हटे पनि यो आयोजना निर्माणको लागि लागिरहने घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६ महिनामा विद्युत चुहावट ४.५ प्रतिशतले न्यूनीकरण गर्दा एक अर्व २५ करोड रुपैयाँ फाइदा भएको बताए।
पोहोरको माग भन्दा यो वर्ष करिब २०० मेगावाट कम विद्युत माग भएको भन्दै उत्पादित विद्युतको बजार पाइँदैन कि भन्ने नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्दै घिसिङले भने 'अहिले जनतालले साथ दिएका छन्, देशैभरी लोडसेडिङ अन्त्य हुन्छ भने हामी किन आइरन र हिटर चलाउने भनेर नचलाउँदा मात्रै २०० मेगावाट विद्युत बचत भएको हो। ल जति चाहिन्छ प्रयोग गर्नुस् भन्ने वित्तिकै १७ सय मेगावाट विद्युत चाहिन्छ'।
कार्यक्रममा नेपाल उर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष खड्ग बहादुर विष्ट, वर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईं, उर्जा मन्त्राललयका सचिव दिनेश घिमिरे सहसचिव चिरञ्जीवी चटौतलगायतले विद्युत विकास दशकमा भएका प्रगति चुनौतीका विषयमा धारणा राखेका थिए।