
बार्सिलोना स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। बुधबार भएको खेलमा स्पोर्टिङ गिहोनलाई ६-१ ले पराजित गर्दै बार्सिलोना रियल मड्रिलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो।
जितसँगै बार्सिलोनाले रियलमाथि एक अंकको अग्रता बनायो। रियललाई पनि लस पलमसलाई हराउँदै पुनः शीर्ष स्थानमा फर्कने मौका थियो तर लस पलमससँग ३-३ गोलको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमा झरेको हो।
जितपछि बार्सिलोनाको २५ खेलबाट ५७ अंक भएको छ। एक खेल कम खेलेको रियलको ५६ अंक छ।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जिताउन एमएसएन लियोनल मेसी, लुइस सुवारेज र नेमारले गोल गरे। यस्तै पाको अल्कासेर र इभान राकिटिकले पनि १/१ गोल गरे।
गिहोनका जुअन रोड्रिग्वेजले एक आत्मघाती गोल गरे। गिहोनका लागि कास्ट्रोले सान्त्वना गोल फर्काए।
बार्सिलोनाले शानदार जित हासिल गरेको दिन क्लबका प्रशिक्ष्ँक लुइस इनरिकले भने आगामी सिजन नोउ क्याम्पमा नरहने र यसै सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन्।
यता क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि १० खेलाडीमा झरेको रियल लस पलमससँग बराबरीमै रोकियो। जसले गर्दा शीर्ष स्थानमा फर्कने मौका गुमायो। ३-१ ले पछि परेको अवस्थामा रोनाल्डोले खेलको अन्तिम ४ मिनेटको अन्तरमा २ गोल गर्दै रियललाई हारबाट जोगाए।
रोनाल्डोले ८६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे भने ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।
त्यसअघि आठौं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर तानाले दशौं मिनेटमा बराबरी गोल फर्काए। ४७ औं मिनेटमा रियलका गारेथ बेलले रातो कार्ड पाएपछि लसपलमसले त्यसको फाइदा उठायो।
५६ औं मिनेटमा जोनाथान भिएराले गोल गर्दै लसपलमसलाई २-१ को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि केभिन प्रिन्स बोएटेङले गोल गर्दै लसपलमसलाई ३-१ को अग्रता दिलाएपनि त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन।