इलाम : बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ। जिल्ला हुलाक कार्यालयअनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म ६ करोड निक्षेप सङ्कलन भएको छ।
न्यूनतम ५० देखि एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजारभन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ।
साधारण बचत खातामा तीन प्रतिशत र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याजदर दिने व्यवस्था रहेको जिल्ला हुलाक अधिकृत जुवालदास राईले बताए।
२०३३ सालबाट बचत सेवा प्रदान गर्न थालेको कार्यालयले स्थायी कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा चार लाखसम्म ऋण लगानी गरेको छ। २०२६ मा छोटी हुलाकका रूपमा स्थापना भएको हुलाक २०३२ सालबाट जिल्ला हुलाक कार्यालयका रूपमा सेवा दिइरहेको छ। हुलाकको बैङ्किङ सेवाप्रति विश्वास बढ्दै गएकाले बचत गर्नेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको अधिकृत राईले बताए। मोबाइल, इमेल इन्टरनेट, फेसबुकका कारण हुलाकमा चिठ्ठीपत्रको चाप घटेको हो।
इलाममा एक जिल्ला, ११ इलाका र ४० अतिरिक्त हुलाक रहेका छन्। राईका अनुसार हुलाकमा अहिले दैनिक व्यक्तिगत चिठ्ठी थोरै मात्र आउने गरेका छन्। विगतभन्दा ४० प्रतिशतले चिठीपत्र आदानप्रदान घटेको कार्यालयले जनाएको छ।