महेन्द्रनगर (धनुषा) : धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ। घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ।
बालकका काका रामनाथ यादवका अनुसार गत सोमबार घर नजिकै छिमेकको घरमा भोज खान भनेर गएको बेलादेखि भतिजा रुपेश बेपत्ता भएका थिए। भोज खाएर रुपेश आफू पढ्ने जनज्योति बोर्डिङ स्कुलमा पढ्न गएको आफूहरुलाई लागे पनि अबेर साँझसम्म घर नआउँदा खोजतलास सुरु गरिएको थियो।
सोमबार साँझदेखि खोजतलास गर्दा बालक नभेटिएपछि मङ्गलबार घरपरिवारले इप्रका सवैलामा निवेदन दिएका थिए। खोजतलासका क्रममा बुधबार साँझ घर नजिकैको गहुँ खेतमा बालकको हत्या भएको अवस्थामा शव फेला परेको घरपरिवारले जनाएको छ।
भोज खाएर हात धुने बेला नै भतिज रुपेशलाई अपहरण गरी हत्या गरेको हुन सक्ने काका रामनाथको भनाइ छ। उनका अनुसार करिब एक महिनाअघि खेल्ने क्रममा भतिज रुपेश र छिमेक सिरिया मुखियाका नातिसँग बच्चा बच्चामा झगडा भएको थियो। त्यस घटनाको एक महिनापश्चात् बालकको हत्या भएकाले सिरिया मुखियाकै परिवारले अपहरण गरेको हुन सक्ने रुपेशका परिवारको आशङ्का छ।
बुधबार बिहान सिरिया मुखिया र उनकी श्रीमती इमिरादेवी मुखिया घरबाट भाग्न खोजेपछि स्थानीयवासीले पक्राउ गरी इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको केही समयपश्चात् बुधबार साँझ नै रुपेशको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले सिरिया मुखियासँगै स्थानीय महेश यादवलाई समेत नियन्त्रणमा लिएर तीनैजनामाथि अनुसन्धान गरिरहेको सवैला इलाका प्रहरीका सई टेकबहादुर ढकालले जानकारी दिए।
बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिप्रका, धनुषाले जनाएको छ।