- सुशीला रेग्मी
सानै उमेरदेखि नै परियारले पञ्चेबाजामा विशेष चासो दिने गर्दथे। उनी लुकिछिपी बाजा बजाउन सिक्थे। अहिले परियार कुशल सहनाईबादकका रुपमा चिनिन थालेका छन्। 'विवाह, भोजभतेर, गाउँमा हुने विभिन्न सामाजिक कार्यमा बाजा बजाउँदै आएको छु,' उनले भने।
बाजा बजाएवापत पाएको रकमबाट विद्यालयको शुल्क र शैक्षिक सामग्री खरिद गर्दैआएको उनी बताउँछन्। शारदा आधाभूत विद्यालय सिलुवामा कक्षा ७ मा अध्ययनरत परियारबाटै कक्षा ५ मा अध्ययनरत ११ वर्षीय शक्ति परियारले पनि पञ्चेबाजा बजाउन सिकिरहेका छन्।
'पढाइलाई निरन्तरता दिँदै भविष्यमा सङ्गीतकार बन्ने सोच लिएको छु,' परियारले भने। बाजा बजाएर सङ्कलन गरिएको रकम पढाइ खर्च र अभिभावकलाई दिने गरेको उनले बताए। 'बाजा बजाउन थालेदेखि आर्थिक समस्या टर्दै गएको छ,' उनले भने।
यहाँ १४ वर्षमुनिका सातजना बालकले तीन वर्षयता समूहमा सहनाई, बिकुल, झ्याली, ढोलक, दमाह, ट्याम्को र नरसिङ्गा बाजा बजाउँदै आएका छन्। गाउँका सामाजिक, सांस्कृतिक र विभिन्न कार्यका लागि बाजा बजाउन सो समूहलाई रोज्ने गरिन्छ।
कक्षा ७ मा अध्ययनरत सङ्गम परियार झ्याली पिट्न निकै सिपालु छन्। कक्षा ४ मा अध्ययनरत दिपेश परियार दमाहा बजाउन खप्पिस छन्। उनी सानैदेखि अरुले दमाह बजाएको हेर्ने र त्यसैको सिको गरेर अहिले कुशल दमाहबादक बन्दै गएका छन्।
पञ्चेबाजाअन्तर्गत दमाहा, ट्याम्को, नरसिङ्गा, सहनाई, झ्याली पर्दछन्। विशेष गरी विवाह, मेला तथा पर्वमा परम्परादेखि नै बजाइँदै आएको पञ्चेबाजा हिजोआज कमै मात्रामा प्रयोग हुने गर्दछ। गाउँमै बाउबाजेले प्रयोग गर्दै आइरहेको पञ्चेबाजाका सामग्री बालकको समूहले चलनचल्तीमा ल्याएका हुन्। बूढापाका र युवापुस्ताले बजाएको जस्तै बालक समूहले बाजा बजाउने गरेको छ।
दिनभर बाजा बजाएर समूहले रु १५ हजारदेखि रु १८ हजारसम्म पारिश्रमिक लिने गरेको सो समूहका सदस्य सङ्गम परियारले बताए। 'विवाहको समयमा विद्यालयबाट विदा लिएर समेत बाजा बजाउन जाने गरेका छौँ,' उनले भने। सो समूहको प्रस्तुति देखेर नै यहाँका अधिकांशले उनीहरुलाई खोजी खोजी बोलाउने गरेका छन्। उनीहरु विवाहका लागि बाजा बजाउन रामपुर, बुटवल, स्याङ्जालगायतका स्थानसम्म पुग्ने गरेका छन्।
विद्यार्थीको वाद्यवादनप्रतिको मोह, रुचि र कला देख्दा हरेक विद्यालयमा सङ्गीतकला शिक्षण कार्यलाई समावेश गर्नु आवश्यक रहेको शिक्षक विष्णु सुनारीको भनाइ छ। 'सैद्धान्तिक ज्ञानभन्दा पनि विद्यार्थीको रुचिअनुसार शिक्षा दिन सके शिक्षण कार्य बढी प्रभावकारी बन्ने देखिन्छ,' उनले भने। परम्परागत शिक्षाले सिकाइमा उत्साहका सट्टा नैराश्यता सिर्जना गरेको उनको बुझाइ छ।