PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

‘सेकेन्ड जेनेरेसन’को लगानी सम्मेलन काठमाडौंमा, भारतीय अर्थमन्त्री अरुण जेट्ली आउँदै



उमेश पौडेल

‘सेकेन्ड जेनेरेसन’को लगानी सम्मेलन काठमाडौंमा, भारतीय अर्थमन्त्री अरुण जेट्ली आउँदै

काठमाडौं : 'हार्नेसिङ इन्भेष्टमेन्ट अपर्च्युनिटिज इन नेपाल' नारासहित सरकारले आयोजना गरेको बहुप्रतिक्षित लगानी सम्मेलन राजधानीमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सम्मेलनको उद्घाटन गरेका हुन्।
 
सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्। कतिपय लगानीकर्ता कम्पनीको प्रतिनिधिको रुपमा र केही व्यक्तिगत रुपमा सामेल छन्।
 
भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी छन्। सम्मेलनमा प्रमुख वक्ताको रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली बिहीबार अपरान्ह राजधानी उत्रँदैछन्।
 
२०४६ सालको परिवर्तन पश्चात नेपालमा लगानीको पहिलो चरण सुरु भएको थियो। धेरै मल्टिनेशनल कम्पनीहरु त्यसबेला मुलुक प्रवेश गरेका थिए। तर, त्यसको केही वर्षमै मुलुक फेरि द्वन्दमा फसेपछि लगानीकर्ता निरुत्साहित भएका थिए। सरकाले अहिले फेरि लगानीकर्तालाई बोलाउने जमर्को थालेको हो।
 
सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले धेरै वर्षको द्वन्द सकिएर देश अब विकासको चरणमा प्रवेश गरेको भन्दै संसारभरबाट खुलेर लगानी गर्न आह्वान गरे। उनले संविधान निर्माण पश्चात अब मुलुक विकासमा केन्द्रित हुने र त्यसका लागि विदेशी लगानीकर्तालाई पर्खिरहेको बताए।
 
विदेशी कम्पनी तथा फोरमहरुले लगानीका लागि पैसा लिएर आए बाँकी सबै प्रकृया सरकारले सहज बनाइदिने उनले प्रतिबद्धता जनाए। नेपालको कुनै पनि राजनीतिक दल या संगठन विकासको विरोधि नभएको हुँदा लगानी सुरक्षाप्रति निश्चिन्त रहन उनले आग्रहसमेत गरे।
 
उनले नेपालमा पब्लिक प्राइभेट पार्टनरसिप ‘पिपिपी’ मोडेल सवैभन्दा उत्कृष्ट रहेको भन्दै सरकारले पुर्वाधार निर्माण लगायमा नीजिक्षेत्र र वैदेशिक लगानीलाई प्राथमिकताका साथ सहयोग र सहकार्य गर्ने जानकारी दिए।
 
उप प्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महाराले नेपालमा लागनीका लागि धेरै क्षेत्र रहेको र त्यसको सुरुवातका रुपमा भर्खरै सरकारले २४ सै घण्टा विजुलीको उपलब्ध गराउन थालेको बताए। उनले लगानीका लागि सेज ऐन तथा अन्य नियम/कानुन समयानुकूल परिवर्तन गर्न सरकार तत्पर रहेको भन्दै वैदेशिक लगानी र नाफावापतको रकम फर्काउनका कुनै समस्या नहुने जानकारी दिए।

 
उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालले दोस्रो ‘जेनेरेसन’को लगानी सम्मेलन आयोजना गरि स्वदेशी बजारलाई विश्वस्तरमा अझ फराकिलो बनाउन चाहेको बताए।

उनले नेपाल आर्थिक विकासको युगमा प्रस्थान गरेको र नेपालको हाइड्रोपावर तथा नयाँ बन्ने भौतिक संरचनाका क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफलको प्रचुर सम्भावना रहेको जानकारी दिए।
 
पूर्व अर्थमन्त्री रामशरण महतले नेपाल अल्प विकसित मुलुकवाट विकासशील देशको सूचीमा प्रवेश गर्न एकदमै आतुर रहेको बताए। उनले सन् १९९० पछिको कालखण्डमा नेपाली कांग्रेस सरकारले नै नीजि क्षेत्रलाई लगानीमा आकर्षित गरेको भन्दै त्यसकै परिणाम स्वरुप नेपालमा टेलिकम्युनिकेसन, एयरलाइन्स, बैंकिङ लगायत क्षेत्रको विकास भएको बताए। आगामी दिनका लागि सरकारले पूर्वाधारमा लगानी खुला गरेको र त्यसमा पिपिपी मोडेल दोस्रो ‘जेनेरेसन’आकर्षण भएको उनले बताए।
 
महतले नेपाल जैविक विविधताले भरिपूर्ण भएको भन्दै हाइड्रोपावर, क्लिन इनर्जी तथा नयाँ इन्फ्रास्टक्चर निर्माणका लागि धेरै लगानीको सम्भावन धेरै रहेको बताए।
 
सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लिछुनले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए। त्यसका लागि नेपाली नीजिक्षेत्रसँग सहकार्य गरेर जाने उनको भनाइ छ।

 
'हामी ठूला आयोजनामा काम गर्न चाहन्छौं' लिछुनले भने 'लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि सामाजिक र आर्थिक परिवर्तन सहितको ठूलो लिन चाहन्छौं।' एआइआइवीले नेपालमा परिवर्तनको चरणमा पुग्ने र ग्रिन सस्टेनेवल इकोनोमीका लागि सहयोग तथा सहकार्य गर्ने स्पस्ट पारे।
 
एआइआइवीले नेपाली जनताले छानेको कुनै पनि प्रोजेक्टमा लगानी गर्न तयार भएको र त्यसका लागि नेपाल सरकारले सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell