PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

मार्च ८ को अवसरमा विभिन्न क्षेत्रका ८ महिला सम्मानित



पहिलोपोस्ट

मार्च ८ को अवसरमा विभिन्न क्षेत्रका ८ महिला सम्मानित

काठमाडौं : मोतीदेवी स्मृति केन्द्रले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ८ महिलालाई सम्मान गरेको छ।
 
महिला आन्दोलनकी अगुवा स्नेहलता श्रेष्ठ र एमाले उपाध्यक्ष एवं केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुलाई सम्मान गरे। पुराना राजनीतिज्ञ, सफल उद्यमी, सामाजिक अभियन्ता, कलाकार तथा चित्रकार र निजामती सेवामा पहिलो दृष्टिविहिन शाखा अधिकृत र पत्रकारलाई सम्मान गरिएको हो। 

को हुन् सम्मानित हुने?

  • अन्नपूर्ण कुवँर
सन् १९६४ मा वीर अस्पतालको नर्सिङ सेवाबाट काम सुरु गरेकी कुँवर नेपाली सेनामा प्रथम प्रशिक्षित महिला लेफ्टिनेन्ट नर्स हुन्। त्यति बेला पुरुष सेनाले मात्र गर्दै आएको प्याराजम्प गरेर उनी पहिलो नेपाली महिला ‘प्यारासुट जम्पर’ भएकी थिइन्।
  • चन्द्रकला बराल
२००६ सालमा कास्कीमा जन्मिएकी उनी राजनीतिमा लागेकै कारण २०४६ सालमा जेल परिन्। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने उनी हाल क्यान्सर रोगबाट पीडित छिन्।
  • लक्ष्मी भुसाल
२००८ सालमा काठमाडौंमा जन्मिएकी उनले सानैदेखि कलाकारिता पेशामा प्रवेश गरेकी थिइन्। रेडियोमा बोलेकै कारण घरबाट निकालिएकी उनको जीवन पारिवारिक अवस्थामा एक्लो जस्तै रहन गयो। ५१ वर्षदेखि निरन्तर रेडियो नेपालमा एउटै कार्यक्रम गरिरहेकी उनी आफूले जानेको सिप सिक्न चाहनेलाई सिकाउन चाहन्छिन्। 
  • शारदा चित्रकार
चित्रकार १९९८ सालमा काठमाडौंमा जन्मिएकी हुन्। अक्षर सिक्नुभन्दा अघिदेखि चित्र बनाउन थालेर जीवनका अधिकांश समय कलम, कुची, रङ र पानीमै बिताइन् उनले। महिलाले घरभित्रको काम बाहेक केही गर्नुहुँदैन भन्ने समयमा चित्रकार बुबा सँगसँगै बस्दाबस्दै उनले चित्र बनाउन सिकिन्। 
  • कल्पना लिम्बु
२०१९ सालमा पाँचथरमा जन्मिएकी उनले विभिन्न संघर्ष खेपेकी छिन्। सानैदेखि राजनीतिलाई समेत साथै लिएर हिँडेकी उनी एक दशकयता ढाका कपडा उत्पादन गर्दै आएकी छिन्। ढाकालाई राष्ट्रको पहिचानसँग जोड्नुपर्छ भनेर लागिहेकी उनको उत्पादन गाउँदेखि अन्तर्राष्ट्रियस्तर पुगिसकेको छ।
  • निर्मला आचार्य
नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदसम्म पुग्न सफल आचार्यले साढे दुई दशकअघि रिपोर्टिङबाट पत्रकारिता सुरु गरेकी हुन्। संवाददाता, सम्पादक, प्रमुख समाचारदाता, नायव महाप्रवन्धक हुँदै डेढ वर्षभन्दा बढी कार्यकाल महाप्रबन्धकमा रहेर कार्य सम्पादन गरेकी उनी २०७३ माघदेखि सेवा निवृत्त भइन्।
  • नीरा अधिकारी
नेपालको निजामती सेवा इतिहासमा उनी पहिलो दृष्टिविहिन शाखा अधिकृत हुन्। ८ वर्षको उमेरमा बिरामी भएपछि उनको आँखाको ज्योति गुमेको थियो। अहिले उनी महिला मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका विभागमा कार्यरत छिन्।
  • रिंकु ठाकुर (लोहार)
२०५४ सालमा पर्साको वीरगन्ज छपकैयामा जन्मिएकी ठाकुर बालविवाह र दाइजो प्रथाविरुद्धको अभियन्ता बन्न चाहन्छिन्। १८ वर्षकै उमेरमा घरपरिवारले उनको विवाह गर्ने निर्णय गरेक थिए तर उनले असहमति जनाइन्। सोही कारण घरै छाड्न बाध्य भइन्। उनी हाल राजधानीको एक संस्थाको आवासगृहमा बस्दै आएकी छिन्। तराईको दाइजो प्रथाविरुद्ध काम गर्न चाहने उनी अहिले आफू बसिरहेको संस्थामा पीडित महिलाहरुको लागि पनि काम गर्दै आएकी छिन्।
 
सोही कार्यक्रममा 'प्रेरणादायी महिलाहरु’ नामक पुस्तकको लोकार्पण गरिएको थियो। लामो समयदेखि लागिरहेका अगुवा महिलाहरुको जीवनी समेटिएको पुस्तक मोतीदेवी केन्द्रले प्रकाशन गरेको हो।
 
कार्यक्रममा बोल्दै केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुको जीवनबाट धेरै कुरा सिक्न सकिने भएकाले नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell