PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री जेट्ली



रासस

लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री जेट्ली

काठमाडौँ : भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताएका छन्।
 
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा आजदेखि काठमाडौँमा सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताए। नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताए।
 
नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिए। जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए।
 
'शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिन्छ', उनले भने, 'हामी आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्छौँ।'  
 
लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहज रुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने जेट्लीको जोड थियो। लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो।
 
उनले ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिने बताए। सम्मेलनमा भारत, चीन, (हङ्कङ समेत), बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन्। नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell