PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​नेपालसहित त्रिदेशीय मोटर र्‍यालीको धनकुटाबाट शुभारम्भ



पहिलोपोस्ट

​नेपालसहित त्रिदेशीय मोटर र्‍यालीको धनकुटाबाट शुभारम्भ

धनकुटा : पाँचौ पर्वतीय खेलकूद महोत्सवअन्तर्गत हिमालयन ड्राइभ मोटर र्‌याली धनकुटाको हिलेबाट बिहीबार भारतको सिलगुढी प्रस्थान गरेको छ।
 
नेपाल-भारत-भुटान त्रिदेशीय मोटर र्‌यालीमा नेपालबाट ४ गाडीमा ८ ड्राइभर र को–ड्राइभर सहभागी छन्। भारतका ३६ गाडीमा ७२ ड्राइभर र को–ड्राइभरले सहभागिता जनाएका छन्। तीन वटै देशका व्यवस्थाक र र्‌याली ड्राइभरसहित उक्त र्‍यालीमा १ सय ७० जना सहभागी रहेका छन्।
 
फागुन १४ मा भारतको सिलगुढीबाट सुरु भएको र्‌याली भुटानको पारो र थिम्पुसम्म पुगेको थियो। त्यहाँबाट भारतको दार्जिलिङ हुँदै नेपालको धनकुटा, हिले बजारसम्म आइपुगेको हो। फागुन १८ साँझ हिले बजार आइपुगेको टोलीलाई १९ फागुन बिहान एक कार्यक्रम गरी सिलगुढी प्रस्थानका लागि विदाई गरिएको हो। र्‌याली सिलगुढीमा पुगेर समापन हुनेछ।
 
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, माउन्टेन स्पोट्र्स फेडेरेसन नेपालका उपाध्यक्ष मनबहादुर न्यौपानेलगायतले मोटर र्‍यालीका सहभागीलाई विदाइ गरे।
 
सोही र्‌यालीको शुभारम्भ अवसरमा पाँचौं पर्वतीय खेलकूद महोत्सवको विधिवत उद्घाटनसमेत भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लगायतका एक दर्जन राष्ट्रिय संघले प्रत्येक वर्षको मार्च महिनामा साहसिक खेल आयोजना गर्दै आएको छ।
 
त्यसैअन्तर्गत त्रिदेशीय मोटर र्‌याली पनि एक रहेको माउन्टेन स्पोर्टस् फेडेरेसन नेपालका महासचिव गोविन्द भट्टराईले जानकारी दिए। उनका अनुसार पर्वतीय खेल महोत्सवमा गल्फ, प्याराग्लाइडिङ, साइक्लिङ, क्रस कन्ट्री दौड, ट्रायथलनलगायतका खेल आयोजना हुनेछन्।
 
महोत्सवअन्तर्गत यसअघि त्रिशुली नदीमा र्‌याफ्टिङ प्रतियोगिता सम्पन्न भइसकेको पनि उनले बताए। ‘सरकार र राष्ट्रिय खेलकूद परिषद्सँग मिलेर हामीले प्रत्येक वर्षको मार्च महिनामा विभिन्न १२ वटा साहसिक खेलकूद प्रतियोगिता आयोजना गरिरहेका छौं’ भट्टराईले भने, ‘त्यसकै निरन्तरता स्वरुप त्रिदेशीय मोटर र्‌याली आयोजना भएको हो।’ पूर्वाञ्चलको पहाडी बाटोमा आयोजना भएको साहसिक मोटर र्‌यालीले यस क्षेत्रको पर्वतीय पर्यटनलाई प्रवर्द्धन गर्न सघाउ पुगेको उनले जानकारी दिए।
 
मोटर र्‌याली भारतको जस्ट स्पोर्टस् क्लबको आयोजना र नासा पूर्वाञ्चलको सहकार्यमा संचालन भएको हो। मोटर र्‌याली विजेताले भारु १ लाख र दोस्रो तथा तेस्रो हुनेले क्रमशः भारु ५० हजार र २५ हजार पुरस्कार पाउनेछन्।
 
लामो दूरीमा आरामदायी ढङ्गले यात्रा गर्न सक्ने कार उत्पादन भएका कारण पछिल्ला दिनमा मोटर र्‌याली आयोजना गर्दा सहजता महसुस गरिएको आयोजकको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell