इटहरी : राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुक्रबारदेखि इटहरीमा सुरु हुँदैछ।
प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी गराए। प्रतियोगिता इटहरी क्रिकेट एकेडेमीको स्थानिय व्यवस्थापनमा हुन लागेको हो।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। एपीएफ, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल समूह ‘ए’ मा छन् भने पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समूह ‘बी’ मा छन्। दुवै समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन्।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने अध्यक्ष विष्टले बताए। सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ भने उत्कृष्ट व्याट्सवूमन र बलरले समान ५–५ हजार नगद पुरस्कार हात पार्नेछन्।
प्रत्येक टिमलाई तयारीका लागि ५०–५० हजार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित २५ लाख खर्च हुने आयोजकले बताएको छ। उद्घाटन खेल पूर्वाञ्चल र मध्यमाञ्चलबीच हुनेछ भने दोश्रो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ।
खेलहरु इटहरीस्थित डिभीएम ग्लोबल स्कुलमा हुनेछन्।