काठमाडौं : बुधबार भएको स्ववियु निर्वाचनको मत परिणाम एक दुई वटाबाहेक सबै क्याम्पसको आइसकेको छ।
देशभर २३ वटा आंगिक क्याम्पस र २५० बढी सम्बन्धन प्राप्त क्याम्पसमा भएको निर्वाचनमा नेविसंघले सबैभन्दा बढी विजय हासिल गरेको दाबी गरेको छ। निर्वाचनको परिणामबारे जानकारी दिँदै नेविसंघ सहमहामन्त्री प्रेमराज जोशीले १०६ क्याम्पसमा नेविसंघको जित भएको दाबी गरे।
त्यस्तै अनेरास्ववियुले १०१ क्याम्पसमा विजय हासिल गरेको भन्दै बिहीबार नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो। क्रान्तिकारीले ६० क्याम्पसमा विजय हासिल गरेको अखिल क्रान्तिकारीका अध्यक्ष नगेन्द्र न्यौपानेले बताए। विद्यार्थी संगठनले आ-आफ्नो विजय सूची सार्वजनिक गरे पनि त्रिविले भने कसैको विजयको बारेमा जानकारी दिएको छैन। त्रिविलाई कति वटा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भयो भन्ने समेत जानकारी छैन।
स्ववियु परिचालन समितिका सदस्य सचिव गंगाबहादुर थापाले विद्यार्थीले अन्तिम नामवली नबुझाएसम्म कुन क्याम्पमा कोको विजयी भए भन्ने जानकारी नहुने बताए।
देशका विभिन्न जिल्लामा भएका स्ववियु निर्वाचनका परिणाम प्राप्त भएका छन्।
भक्तपुर
स्ववियु निर्वाचनमा भक्तपुरका दुईवटै क्याम्पसमा संयुक्त प्यानलले विजय हासिल गरेको छन्। भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त प्यानल विजयी भएका छन्। विजयी हुनेमा अध्यक्षमा दिनेश खड्गी, सचिवमा विवेक लामिछाने, कोषाध्यक्षमा मिलन गणेजू र सदस्यहरुमा विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाईं, विनिता रिजाल, सुदीप घोरसाइनी र पुकार पराजुली रहेका छन्।
यस क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारी दिएका थिए।
सानोठिमी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलले विजय हासिल गरेको छ। जसमा अध्यक्षमा रमेश खड्का, सचिवमा रामबहादुर केसी, कोषाध्यक्षमा पार्वती शर्मा र सदस्यहरुमा रेशमलाल श्रेष्ठ, वर्षा लम्साल, टिकेन्द्रप्रसाद भट्ट, भूषण तामाङ, यङ्गजोर कार्की, ताराबहादुर कार्की र पूजा फुयाँल निर्वाचित भएका छन्।
झापा
झापामा निर्वाचन भएका नौवटा क्याम्पसमध्ये सातवटामा मतगणना सम्पन्न भएको छ। जसमा चारवटा क्याम्पसमा नेवि सङ्घ, दुई वटामा अनेरास्ववियु र एकवटामा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्।
गौरीगन्ज बहुमुखी क्याम्पसमा नेवि सङ्घका देवकुमार ताजपुरिया, दुर्गा क्याम्पस गरामनीमा विनोद उप्रेती, कनकाई क्याम्पस बिर्तामोडमा सञ्जय राई र काँकरभिट्टा बहुमखी क्याम्पसमा सुरज सुवेदी सभापतिमा निर्वाचन भएका छन्।
त्यस्तै, गौरादह बुहुमुखी क्याम्पसमा अनेरास्ववियुका कमल पौड्याल, त्रिदेव बहुमखी क्याम्पस चारआलीमा लक्ष्मीप्रसाद न्यौपाने सभापति विजयी भएका छन् भने देवी क्याम्पस विर्तामोडमा अखिल क्रान्तिकारीका पदम खड्का सभापतिमा निर्वाचित भएका छन्।
भोजपुर
भोजपुर बहुमुखी क्याम्पसमा सचिव पदबाहेक एमाले निकट अनेरास्वियुको प्यानल नै विजयी भएको छ। बुधबार राति सम्पन्न स्ववियुको निर्वाचनमा काँग्रेसनिकट नेविसङ्घका टार्जन राईलाई ७ मतले पछि पार्दै एमाले निकट अनेरास्ववियुका प्रकाशसिंह राई अध्यक्षमा निर्वाचित भएका हुन्।
राईले १२७ र नेविसङ्घका राईले ११० मत प्राप्त गरेका छन् भने यता अखिल क्रान्तिकारीका आशा खड्काले ८७ मत प्राप्त गरेकी हुन्। सचिवमा भने नेवि सङ्घका अनोज कार्की विजयी बनेका छन्।
स्ववियुको नेतृत्वका लागि विभिन्न चारवटा विद्यार्थी सङ्गठनले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकारी रिन्जु शेर्पाले जानकारी दिइन्। ३३० मत खसेकामा ३ मत भने बदर भएको थियो।
कालीकोट
कालीकोटमा चारवटा क्याम्पसमध्ये नन्दादेवी कोटवाडामा विवाद भएपछि तालाबन्दी भएका कारण बिहीबार निर्वाचन भएको छैन भने अन्य तीनवटा क्याम्पसमध्ये मोतिराम साइन्स बहुमुखी क्याम्पस सिपखानामा कूल खसेको १२ मतमध्ये नेवि सङ्घ सम्बद्ध प्यानलका नन्दलाल जैसीले ८ मत ल्याई विजयी भएका छन् भने अनेरास्ववियु क्रान्तिकारी धर्मराज जैसी पराजित भएका छन्।
सो क्याम्पसमा नेवि सङ्घ र अनेरास्ववियुबीच एकता भएर अखिल क्रान्तिकारी एक्लै भिडेको बताइएको छ। त्यसैगरी, जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा कुल ४४ मत खसेकामा २४ मत ल्याई अनेरास्ववियु प्यानलका प्रकाश सञ्ज्यालको प्यानल विजयी भएको छ भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अमर बमले १९ मत ल्याएर पराजित भएका छन्।
जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारीसँग नेविसङ्घ, अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी सङ्घको संयुक्त प्यानलबाट निर्वाचनमा उत्रिएका थिए।
त्यसैगरी, तीला कर्णाली बहुमुखी क्याम्पस कालीकोटमा एकसय ५५ मतमध्ये अखिल क्रान्तिकारीका भीमप्रसाद आचार्यले ९० मत ल्याई विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका लक्ष्मण शाहीले ६६ मत ल्याए।
क्रान्तिकारी प्यानलको सबै टोली विजयी भएको तीला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख रुद्रप्रसाद सापकोटाले बताएका छन्।
उदयपुर
उदयपुर जिल्लाका तीनवटा क्याम्पसमा बुधबार भएको स्ववियुको निर्वाचनको बिहीबार बिहानसम्मको परिणामअनुसार जिल्लाको पूर्वी क्षेत्रको बेल्टार बसाहा नगरपालिकाको बसाहामा रहेको नारद आदर्श क्याम्पसमा भएको बुधबारको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका पदाधिकारीहरु निर्वाचित भएका छन्।
सो क्याम्पसमा नेवि सङ्घका तर्फबाट अध्यक्षमा प्रतापसिंह राई निर्वाचित भएका छन् भने सचिवमा अशोक राई, कोषाध्यक्षमा सुजाता मगर र सदस्यहरुमा रत्न राई, परिथा राई, मिलन राई, गणेश आले, मिलन कटेललगायतका पदाधिकारी विजय भएको सो क्याम्पसका प्रमुख ध्रुवदेव राईले बताए।
यस्तै, जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको अध्यक्षमा नेविसङ्घका उम्मेदवार महेश खड्का अध्यक्ष पदमा विजयी भएका छन्। यस्तै, सचिवमा अखिल क्रान्तिकारी र सङ्घीय समाजवादी फोरम प्यानलका इसाक राई र कोषाध्यक्षमा दिवाकर खड्का विजयी भएको निर्वाचन मण्डलले बताएको छ। सदस्यहरुमा नेविसङ्घका ६ र अखिल क्रान्तिकारीसहित सङ्घीय समाजवादी फोरमका संयुक्त, प्यानलले दुई सदस्य विजय हासिल गरेको निर्वाचन मण्डलका सदस्य विदुर खड्काले बताए।
डडेल्धुरा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति नैनसिंह महरको गृहजिल्लाका दुईवटै क्याम्पसमा नेविसङ्घको प्यानल नै विजयी भएको छ।
डडेल्धुरामा रहेका डडेल्धुरा बहुमुखी र भित्रीमधेस जोगबुडामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा बहुमत ल्याएर नेविसङ्घले जित हासिल गरेको स्ववियु निर्वाचन समितिले जनाएको छ।
करिब आठ वर्षपछि भएको सो निर्वाचनमा नेविसङ्घले अत्यधिक मतका साथ विजयी भएको घोषणा डडेल्धुरा बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत डा. मोहनराज भट्ट र त्रिवेणी बहुमुखीका नारायणदत्त जोशीले गरेका हुन्।
डडेल्धुरा बहुमुखीमा जगत ऐरको नेतृत्वमा नेविसङ्घले १७२ कूल खसेको मतमा १४५ मत ल्याएको छ भने प्रतिस्पर्धी संयुक्त प्यानलका प्रिया लामाले २५ मत मात्रै ल्याएको निर्वाचन अधिकृत मोहनराज भट्टले जानकारी गराए।
त्यसैगरी, त्रिवेणी बहुमुखी क्याम्पसमा पनि नेविसङ्घका कृष्ण धामीले ५४ मत ल्याएर प्यानल विजयी गराएका छन् भने प्रतिस्पर्धी अखिल क्रान्तिकारीका मोहन धामीले ३६ मत ल्याएका छन्।
बुधबार बेलुका आएको निर्वाचन परिणामअनुसार डडेल्धुराका क्याम्पसमा नेविसङ्घले लामो समयपश्चात् जित हासिल गरेको हो। सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा जित हासिल गर्नेमा सभापतिमा जगत ऐर १४५, सचिव खेमराज अवस्थी १३५, कोषाध्यक्ष विमला साउद १३९, सदस्यहरुमा अरुण पन्त १३९, धर्मसिंह मडै १३७, रमिता कुमारी महता १२८, प्रसादसिंह ताम्राकार १४२ र सावित्री खड्काले १३६ मत ल्याएका छन् भने संयुक्त प्यानलले ३० भन्दा मढी मत पाएको छैन।
त्रिवेणी बहुमुखी क्यम्पसमा पनि नेविसङ्घकै प्यानल विजयी भएको छ। विजयी हुनेमा सभापति कृष्ण धामी, सचिव केशव भट्ट, कोषाध्यक्ष पुष्पा अवस्थी र सदस्यहरुमा विमला बोहरा, सावित्री नेगी, टेकबहादुर बोहरा र दीपेन्द्र थलाल विजयी भएको त्रिवेणीका निर्वाचन अधिकृत नारायणदत्त जोशीले बताए।
योभन्दा अगाडिका स्ववियु निर्वाचनमा हार बेहोर्दै आएको नेविसङ्घले बुधबार सम्पन्न भएको निर्वाचनमा भने प्यानलसहित विजयी भएको छ।
बागलुङ
धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा नेपाल विद्यार्थी सङ्घ नेतृत्वको प्यानल विजयी भएको छ। बिहीबार बिहान सम्पन्न मतगणनामा नेवि सङ्घका मनबहादुर थापा ‘मनिष’ सभापतिमा विजयी भए।
कुल खसेको ८३० मतमध्ये थापाले ५०२ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार शेखर खड्काले ३०६ मत प्राप्त गरे। सचिवमा नेविसङ्घ नेतृत्वको लोकतान्त्रिक प्यानलका विष्णुराज शर्माले ४५१ र कोषाध्यक्षमा सुस्मिता बोहराले ४९९ मत पाएर विजयी हुनुभएको निर्वाचन अधिकृत डा. दिनबहादुर थापाले जानकारी दिए।
सचिवमा अखिल संयुक्तका जीवन शर्माले ३४३ र कोषाध्यक्षमा विष्णुकुमारी जोल्मीले २९७ मत प्राप्त गरेको जनाइएको छ। सदस्यहरुमा लोकतान्त्रिक प्यानलकै मीना सापकोटा ४६५, सञ्जु चापागाईं ४३३, मनोज सापकोटा ४७२, विवेक जिसी ४६३ र हरिबहादुर भण्डारी ४३१ मत प्राप्त गरी विजयी भए। सामानुपातिकतर्फ लोकतान्त्रिक प्यानलले ५००, अखिल संयुक्तले २९३ र अनेरास्ववियु पाँचौँले २० मत प्राप्त गरेको छ।
यसअघि, बुधबार नै सम्पन्न भएको मतगणनाबाट जिल्लाको हटियास्थित गलकोट बहुमुखी क्याम्पसमा पनि नेविसङ्घ विजयी बनेको छ। नेविसङ्घका तर्फबाट गुमानसिंह भण्डारी सभापतिमा विजयी भएका हुन्।
भण्डारीले कूल खसेको मतमध्ये ७२ मत र उनका प्रतिद्वन्द्वी अखिल प्यानलकी जीवनकला खत्री ‘सरिता’ले ५५ मत प्राप्त गरे। उक्त क्याम्पसमा सामानुपातिकतर्फ नेविसङ्घले ७१ र अखिल प्यानलले ५७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
वालिङ
स्याङ्जाका आठवटा क्याम्पसमध्ये सातवटाको मत परिणाम सार्वजनिक भएको छ भने एउटाको परिणाम अझै अनिश्चित बनेको छ।
पाँचवटामा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने दुई वटामा अनेरास्ववियु विजयी भएको छ। जिल्लाको गल्याङ बहुमुखी क्याम्पस, चापाकोट बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, राधा दामोदर क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा नेविसङ्घ विजयी भएको हो।
नेविसङ्घले मालुङ्गा बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श क्याम्पसमा प्यानल नै जितेको छ। अनेरास्ववियु सिद्धार्थ बहुमुखी क्याम्पस र मिर्मी बहुमुखी क्याम्पसमा विजयी भएको छ। अनेरास्ववियुले दुवै क्याम्पसमा प्यानल नै जितेको हो।
यता जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको देशकै पुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसको नतिजा भने आइसकेको छैन। कुल ७३२ मत खसेको निर्वाचनमा निर्वाचन अधिकृत र मतदान अधिकृतको कमजोरीका कारण मतगणना स्थगित गरिएको जनाइएको छ। पहिलो सयवटा मतगणना गर्दा सात वटामा निर्वाचन अधिकृत र मतदान अधिकृत दुवैको हस्ताक्षर नभएपछि मतगणना प्रक्रिया अर्को सहमति नहुँदासम्मका लागि स्थगित गरिएको हो ।
उता निर्वाचन अधिकृत र मतदान अधिकृतले नियतवश नभई भूलवश भएको प्रतिक्रिया दिएका छन्। हस्ताक्षर छुटेका मतपत्रमा पाँचवटा नेविसङ्घको प्यानललाई, एउटा अनेरास्ववियुको प्यानललाई र एउटा मतपत्र दुईतर्फका उम्मेदवारलाई मत दिइएको छ।
नेविसङ्घले खसेको मतभन्दा धेरै नभएपछि यसलाई वैधानिकता दिनुपर्ने माग गरेको छ भने अनेरास्ववियुले वैधानिकता दिन नसकिने भनेपछि मतगणना प्रक्रिया स्थगित गरिएको हो। राससको सहयोगमा