काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर सच्याइदिएको भन्दै असन्तुष्टि पोखिरहेका उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रबीरसिंह बस्न्यातले अवकाश पाएका छन्। न्याय परिषदले सच्याएको उमेरलाई नै आधार मानेर बस्न्यातलाई बुधबारदेखि अवकाश दिएको हो।
अवकाश पाउनुअघि बस्न्यातले सच्याइएको उमेर बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा अन्तरिम जारी नभएपछि उनको नयाँ उमेर कायम भएको थियो। सोही उमेरहदका कारण उनले अवकाश पाएका हुन्।
अवकाशपछि सामाजिक सञ्जालमा कार्यकालमा सहयोग गर्ने व्यक्ति र संस्थालाई उनले धन्यवाद दिएका छन्।
तर, सांकेतिक रुपमा प्रधानन्यायाधीश सुशीला कार्कीसँग भने चर्को असन्तुष्टि पोखेका छन्।
प्रधानन्यायाधीश सुशीला कार्की र सर्वोच्चका तत्कालीन रजिष्ट्रार श्रीकान्त पौडेलसँगको धमिलो तस्विर फेसबुकमा पोस्ट गर्दै बस्न्यातले न्यायपालिकामा आफुले ४१ बर्ष बिताउँदा सहयोग गर्ने सवै व्यक्ति र संस्थालाई धन्यवाद दिएका छन्।
तर, उनले सांकेतिक रुपमा केही असन्तुष्टि न्यायपालिका नेतृत्वसामु पोखेका छन्। विशेष धन्यवाद भन्दै बस्न्यातले फेसबुकमा लेखेका छन् –विशेष धन्यवाद तिनीहरूलाई जसले प्रमाण र तथ्यको मूल्याङ्कन गरी मलाई न्याय प्रदान गरेनन्। तिनीहरु हरेकलाई धोखा दिन सक्छन्, तर, आफूलाई धोखा दिन सक्दैनन्। यो सर्तमा म भगवानसँग तिनीहरुलाई सजायका लागि प्रार्थना गर्दिन कि भविश्यमा न्यायको अनुभूति तिनीहरुले प्रदान गरुन।
४१ बर्ष न्याय सेवामा बिताएका बस्न्यात गत मंगलबार उमेर हदका कारण अवकाश पाएका हुन्। ४१ बर्षमध्ये ३४ बर्ष उनी विभिन्न अदालतमा न्यायाधीश भएका थिए। हाल उनी उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश थिए।
किन लेखे बस्न्यातले यस्तो ?
तत्कालीन पुनरावेदन अदालतमा मुख्य न्यायाधीश बनाउने क्रममा आफुलाई छुटाएको भन्दै बस्न्यातको गुनासो रहन्थ्यो। पछिल्लो पटक बस्न्यातको गुनासो थियो –न्याय परिषद् अध्यक्ष एवं प्रधानन्यायाधीशसँग।आफ्नो आधिकारिक उमेर घटाएको भन्दै प्रधानन्यायाधीशबिरुद्ध उनी सर्वोच्चमा न्याय माग्न पुगेका थिए। बस्न्यातले प्रधानन्यायाधीश कार्कीको निर्णय खारेज गर्न माग गरेका थिए।
न्यायपरिषद् अध्यक्ष रहेकी कार्कीको एकल निर्णयमा बस्न्यातको जन्ममिति सच्याउने निर्णय भएको थियो। उनले आफ्नो वास्तविक जन्ममिति २०११ साल असार १९ रहे पनि सच्याएर २०१० साल फागुन १८ बनाइएको दाबी गरेका थिए।
तर, उनको दावी सर्वोच्चले अस्वीकार गर्दै उनको रिटमा अन्तरिम आदेश जारी गरेन। अदालतले अन्तरिम जारी नगरेपछि सच्याइएको मिति अनुसार नै बस्न्यातले अवकाश पाएका हुन्।
बस्न्यात उमेर सच्याएको भन्दै प्रधानन्यायाधीशसँग रुष्ट थिए। उनले दावी गरेको कार्यकाल कायम रहेको भए आउँदो असारसम्म उनको कार्यकाल रहन्थ्यो।
नयाँ पत्रिकासँगको कुराकानीमा बस्न्यातले प्रधानन्यायाधीशले अन्याय गरेका कारण रिट दर्ता गर्नुपरेको बताएका थिए।
उनले भनेका थिए –‘जन्ममिति र नागरिकता भनेको जागिरको विषय होइन,’ उनी भन्छन्, ‘यो त विधि र प्रतिष्ठासँग जोडिएको लडाइँ हो । अहिले ममा देखियो, तर अदालतले जन्ममिति परिवर्तन गरिदिने कुरा क्षम्य हुनै सक्दैन ।’