काठमाडौँ : कालीमाटीस्थित फलफूल तथा तरकारी बजार आज बन्द गरिएको छ। पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो।
कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ। २०६८ मा भएको सो घटनाबाट बजारको भौतिक संरचनामा समेत ठूलो क्षति भएको थियो। बजारको भौतिक पूर्वाधार अहिले मर्मत तथा पुनःनिर्माण सुरु गरिएको भए पनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
काठमाडौँ उपत्यका, त्यस आसपास क्षेत्र तथा उपत्यका बाहिरबाट दैनिक पाँचसय मेट्रिक टनदेखि एकहजार मेट्रिक टनसम्म तरकारी आउने गर्दछ। उपत्यकामा तरकारी र फलफूलको सुपथ मूल्यमा आपूर्ति हुने सो बजार बन्द भएपछि उपभोक्तालाई समस्या भएको व्यवसायी नवीन साहीले जानकारी दिए।