PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

कक्षाकोठाको छानो उडाउँदा म्याग्दीका तीन विद्यालयको पठनपाठन प्रभावित



रासस

कक्षाकोठाको छानो उडाउँदा म्याग्दीका तीन विद्यालयको पठनपाठन प्रभावित

बाबियाचौर (म्याग्दी) : हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ।
 
बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो। भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन्।
 
विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै पर्खालसमेत भत्किएको छ। हावाहुरीले ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहूँ, अर्मनलगायतका ठाउँका करिब ५० घरमा क्षति पुर्‍याएको छ। अर्मन–७ नेटामा दशवटा घरको छानो बस्न नहुने गरी उडाएको र ३५ वटा घरमा क्षति पुर्‍याएको त्यहाँबाट बल रोकाले जानकारी दिए। अर्मन र बाबियाचौरको सिमाना पुल्चोकस्थित एउटा घरको सबै छानो उडाएको छ।
 
त्यसैगरी, बेनी नगरपालिका–३ गौश्वारामा पनि हावाहुरीले छवटा घरमा क्षति पुर्‍याएको चन्द्रकान्त रिजालले जानकारी दिए। इन्द्रप्रसाद शर्मा, तीर्थ मल्ल र देवबहादुर खड्काको घर पूर्णरुपमा क्षति पुगेको छ।
 
भद्रबहादुर सापकोटा, रतनबम मल्ल र मनबहादुर थापाको घरमा पनि क्षति पुगेको छ। बेनी नगरपालिकाको डडुवामा रहेको केसी बाख्रा फार्मको टिनको छाप्रो र प्लास्टिकको टनेल हावाले उडाउँदा करिब रु ४० हजार बराबरको क्षति भएको सञ्चालक होमबहादुर खत्रीले बताए। जिल्ला प्रहरी कार्यालय म्याग्दीले हावाहुरीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell