PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

केन्याविरुद्धको खेलका लागि कस्तो छ नेपाली टीमको तयारी?



पहिलोपोस्ट

केन्याविरुद्धको खेलका लागि कस्तो छ नेपाली टीमको तयारी?

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको पाँचौं चरणमका दुई खेल यही (मार्च ११ र १३) फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
 
यही खेलका लागि भनेर नेपालले विभिन्न चरणमा तयारी पनि गरिरहेको छ।
 
पहिलो चरणमा सुपर लिग प्रतियोगिता, डेभ वाटमोरको उपस्थितिमा उत्कृष्ट ३२ खेलाडीलाई हाइ पर्फमेन्स ट्रेनिङ क्याम्प, त्यसपछि २४ खेलाडीको क्लोज क्याम्प अनि १८ खेलाडीको भारत भ्रमण।
 
केन्यासँगको खेल नेपालले घरेलु मैदानमा खेल्न पाउने भए पनि सुरुमा यसको स्पष्ट निर्णय भइसकेको थिएन।
 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेका कारण घरेलु प्रतियोगिता लगभग शून्य थियो भने यहाँ अन्तर्राष्ट्रिय खेल कसले गर्ने भन्ने अन्योल पनि थियो। तर आइसीसीले नै नेपाललाई निलम्बनमा राखे पनि अन्तर्राष्ट्रिय खेल खेल्न दिने बताएको थियो। र त्यस क्रममा नेपालको सबै खर्च आइसीसीले नै बेहोर्ने जनाएको थियो। आइसीसीले क्यान निलम्बन नहुँदा पनि गत वर्ष नामिवियाविरुद्धको खेल आफ्नै सक्रियतामा गरेको थियो।
 
पछिल्लो पटक लण्डनमा लर्ड्स भ्रमण विश्व क्रिकेट लिग चयाम्पियनसिपअन्तर्गतकै नेदरल्याण्ड्स टुरमा पनि आइसीसीले खर्च गरेको थियो।
 
त्यसैअनुरुप केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको छनोटदेखि सम्पूर्ण विषयको बारेमा आइसीसीले नै हेर्दै आएको छ।
 
नेपाली क्रिकेटको विवादबारे हेर्न आइसीसीले छुट्टै सल्लाहकार समिति पनि बनाएको छ भने नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी छनोट गर्न आइसीसीका प्रतिनिधीसहित कोच र कप्तानको समिति बनाएको छ।
 
केन्याविरुद्धको खेलका लागि भन्दै सुपर लिगका लागि ५२ खेलाडी पनि उक्त समितिले नै खेलाडीले पछिल्लो एक वर्ष गरेको प्रदर्शनको आधारमा छानेको थियो। यस्तै त्यसबाट उत्कृष्ट ३२ खेलाडी छनोट गरियो। यसबारे धेरै जानकारी बाहिर नआए पनि अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले ती ३२ खेलाडीलाई करिब दुई साता हाइ पर्फरमेन्स क्याम्प दिए।
 
त्यसपछि केन्याविरुद्धको खेलका लागि भन्दै दोस्रो चरणमा २४ खेलाडी छनोट गरियो। यसमा राष्ट्रिय टीममा खेलिसकेका केही उत्कृष्ट खेलाडी अटाएनन् भने केही नयाँ अनुहारले स्थान पाए।
 
त्यसपछि थप एक्सपोजरका लागि नेपालले आइसीसीको स्विकृतीमा भारत भ्रमण तय गर्यो। त्यसमा २४ बाट घटाएर १९ खेलाडीको सूची तयार भयो। स्वाथ्य समस्याका कारण कप्तान पारस खड्का भारत गएनन् भने बाँकी १८ खेलाडी भारत गए।
 
नेपालले करिब एक साताको भारत भ्रमणमा ३ अभ्यास खेल खेल्ने र नेपाली खेल्ने टोलीहरु अफगानिस्तानको ए टीम, राजस्थानको टीमलगायत तय भएको समचार बाहिर आयो। तर भारत भ्रमणमा गइसकेकपछि नेपालले खेल्ने भनिएका विपक्षी रहेनन्। नेपालले राजवाडा क्रिकेट टीमसँग दुई तथा नोइडा वन्डर्ससँग १ अभ्यास खेल खेल्यो।
 
खेलाडीहरुलाई थप एक्सपोजर दिन र आफ्नो स्तरको टोलीसँग खेल्ने भनिए पनि नेपालले त्यो अवसर पाउन सकेन। कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे पनि स्थानीय टीम राजवाडासँग पनि नेपाल पहिलो खेलमै हार्‍यो। तर दोस्रो खेलमा नेपालले राजवाडालाई पराजित गर्दै पहिलो हारको बदला लियो, ज्ञानेन्द्रले ९५ रन ठोके। तेस्रो खेलमा पनि नेपाल विजयी भयो। तर के नेपालले आफ्नो स्तरको टोलीसँग खेल्न पायो त?
 
भारत भ्रमण नेपालको लागि कति फलदायी रह्यो। यसको लेखाजोखा सम्बन्धित निकायले नै गर्नेछ। भारत भ्रमणमा रहे पनि दीलिप नाथ र भुवन कार्कीले कुनै खेल खेलेनन्।
 
नेपालले केन्यासँग खेल्नको लागि अब एक साता मात्र बाँकी छ। नेपालले करिब दुई महिनायता केन्यासितको लागि भनेर तयारी गरेको छ।
 
नेपालसँग खेल्नकै लागि भनेर केन्याको टोली पनि अहिले भारत भ्रमणमा छ। भारतमा ४ वार्म अफ म्याच खेल्ने बताएको केन्या त्यतैबाट मार्च ९ मा नेपाल आउने बताएको छ।
 
भारत भ्रमणबाट फर्केसँगै केन्याविरुद्ध खेल्ने १४ सदस्यीय नेपाली टोली र वैकल्पिक खेलाडी घोषण गर्ने टीमका व्यवस्थापकका रुपमा भारत गएका टेक्निकल एलालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो।

सम्भवत: अब छिट्टै नै उक्त घोषणा हुनेछ। अहिले छनोट भएका १९ मध्ये ४ खेलाडी सुनिल धमला, मोहम्मद आसिफ शेख, दीलिप नाथ र दीपेन्द्र सिंह ऐरी राष्ट्रिय टीमका लागि नयाँ अनुहार हुन्। सुनिल नेदरल्याण्ड्स टुरमा नेपालको टोलीमा रहे पनि खेल्न भने पाएनन्।
 
यसअघि नामिवियाविरुद्ध घरेलु मैदानमा भएको खेलमा नेपालका लागि विकेटकिपर ब्याट्सम्यान राजु रिजाल र युवा स्पिनर सन्दीप लामिछानेले डेब्यु गर्ने अवसर पाएका थिए। यस पटक पनि सम्भवत १/२ खेलाडीले डेब्यु गर्न सक्नेछन्।
 
सन्दीपसँगै सुनिल र दीपेन्द्रले गत वर्ष बंगलादेशमा भएको यु १९ वर्ल्ड कपमा सँगै खेलेका थिए। नेदरल्याड्ससँग टीममा परेर पनि खेल्न नपाएका सुनिलले धरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका छन्। यस्तै दीपेन्द्रले श्रीलङ्कामा भएको यु १९ एसिया कपमा घरेलु टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। आसिफ र दीलिपले पनि घरेलु प्रतियोगितामा राम्रो खेल्दै आएका छन्।
 
त्यसैले यस पटक पहिलो रोजाइमा पर्नका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell