PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

गाउँपालिकाको केन्द्र माग गर्दै ताकमवासीले गरे नाकाबन्दी



रासस

बेनी (म्याग्दी) : धौलागिरि गाउँपालिकाको केन्द्र ताकममा रहनुपर्ने माग गर्दै जिल्ला विकास समितिमा तालाबन्दी गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका ताकमवासीले आजदेखि अनिश्चितकालीन यातायात बन्दसहित नाकाबन्दीको घोषणा गरेका छन्।
 
धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्र सच्चाउन माग गर्दै विगतमा गरिएका दबाबमूलक कार्यक्रम बेवास्ता भएको भन्दै दरवाङ–देवीस्थानको फेदी हुँदै ताकम–मुना सडक अवरुद्ध गरेका हुन्।
 
ताकमवासीमा रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सहकारीको कामसमेत ठप्प पारिएको ताकमका युवा गोपाल आचार्यले बताए। पुनःसंरचना आयोगले बहुसङ्ख्यक बासिन्दालाई असुविधा हुनेगरी धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्र मुनामा कायम गरेको भन्दै सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका ताकमवासीले माथिल्लो क्षेत्रमा पर्ने कुनै पनि गाविसमा यातायातका साधनका साथै खच्चडसमेत आवतजावत गर्न दिएका छैनन्।
 
आयोगले गाउँपालिका केन्द्र रहने गाविसमा उच्च मावि तहको विद्यालय, भवनलगायतका पूर्वाधार रहनुपर्नेलगायतका मापदण्ड विपरीत केन्द्र कायम गरेको धौलागिरि गाउँपालिका सङ्घर्ष समितिका अगुवाको भनाइ छ। गत कात्तिक १९ गते शुक्रबार स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको सङ्ख्या र सिमाना निर्धारणसम्बन्धी गोष्ठीमा एक नगरपालिका र पाँच गाउँपालिकामध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भए पनि धौलागिरि र रघुगङ्गा गाउँपालिकाको केन्द्रमा राजनीतिक दलबीच विवाद भएपछि धौलागिरिको ताकम वा मुना र रघुगङ्गा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट वा पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell