काठमाडौं : लगानी सम्मेलनमा उत्तरी छिमेकी चीनले सर्वाधिक लगानीको प्रतिबद्धता जनाएको छ।
चीनले आठ अर्ब ३० करोड अमेरिकी डलर (आठ खर्ब ८० अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो समय नेपालमा लगानी बढाइ रहेको चीनले सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ठूलो उत्साहका साथ सहभागिता जनाएको थियो।
त्यही अनुरुप चिनियाँ कम्पनीले लगानी प्रतिबद्धता जनाएका हुन्। सरकारले चार खर्ब रुपैयाँ हाराहारी लगानी आउने अपेक्षा सहित आयोजना गरेको सम्मेलनमा चीनबाट मात्रै दोब्बर बढिको प्रतिबद्धता प्राप्त भएको हो।


कुल १३ अर्ब ५२ करोड अमेरिकी डलर (१४ खर्व ३३ अर्ब) रुपैयाँको आवेदन भएकोमा चिनियाँ लगानीकर्ताले आधा भन्दा बढि हिस्सा चिनियाँ कम्पनीले नै ओगटेका छन्।
.jpg)
चीन पछि बंगलादेशले दोस्रो स्थान ओगटेको छ। बंगलादेशबाट दुई अर्ब ४० करोड अमेरिकी डलर (दुई खर्ब ५४ अर्ब रुपैयाँ)को प्रतिबद्धता आएको हो। बंगलादेशले पछिल्लो समय नेपालको जलविद्युत प्रति चासो देखाउँदै आएको थियो।
.jpg)
बंगलादेश पछि जापान र बेलायती लगानीकर्ताले समेत एक/एक अर्ब अमेरिकी डलर (एक खर्ब सात अर्ब रुपैयाँ) लगानीको बचन दिएका छन्। यस्तै श्रीलंकाको लगानीकर्ताले ५० करोड अमेरिकी डलर (५३ अर्ब रुपैयाँ भन्दा बढी) लगानी प्रतिबद्धता जनाएका छन्।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदर भारतीय लगानीकर्ता भने अरु मुलुकको तुलनामा पछि परेका छन्। भारतीय लगानीकर्ताले ३१ करोड ७० लाख अमेरिकी डलर (३३ अर्ब ६० करोड रुपैयाँ) लगानीको प्रतिबद्धता जनाएका हुन्। यस्तै नेपाली लगानीकर्ताले समेत ११ करोड ५० लाख (झन्डै १२ अर्ब रुपैयाँ) अमेरिकी डलर लगानीको बचन दिएका छन्।

सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्। कतिपय लगानीकर्ता कम्पनीको प्रतिनिधीको रुपमा र केही व्यक्तिगत रुपमा सामेल छन्।

भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका थिए। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी थिए।
२०४६ सालको परिवर्तन पश्चात नेपालमा लगानीको पहिलो चरण सुरु भएको थियो। धेरै मल्टिनेशनल कम्पनीहरु त्यसबेला मुलुक प्रवेश गरेका थिए। तर, त्यसको केही बर्षमै मुलुक फेरि द्वन्दमा फसेपछि लगानीकर्ता निरुत्साहित भएका थिए। सरकाले अहिले फेरि लगानीकर्तालाई बोलाउने जमर्को गरेको हो।