PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

'मर्न तयार हुँदै' एमाले नेताहरु मेची- महाकाली अभियानमा



रमेश वाग्ले

'मर्न तयार हुँदै' एमाले नेताहरु मेची- महाकाली अभियानमा

काठमाडौं : संविधान संशोधन रोकेर मेची–महाकाली अभियानका लागि मधेस झरेको एमालेको अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हस्तक्षेप शुरु भइसक्यो। त्यसको सुरुवात मोर्चाका कार्यकर्ताले शुक्रबार राजविराजबाट गरे एमाले जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेर।

एमाले राजविराजमा हुने सभाको तयारीमा जुटेका चौधरीलाई मोर्चाका कार्यकर्ताले मोसो दलेर विरोधको हस्तक्षेपको प्रारम्भ गरे।मोसो दलेपछि मोर्चाले जिम्मा नलिई जनताको विरोध प्रकट भएको भन्दै पन्छिए। मोर्चाको आवरणमा पार्टीको कार्यक्रममाथि हस्तक्षेप र पार्टी नेतामाथिको आक्रमणबाट एमाले नेताहरु मोर्चासँग जंगिएका छन्।

एमालेका नेताहरु पार्टीको अभियान जसरी पनि पुरा गर्ने मुडमा छन्। मोर्चा जसरी पनि विथोल्ने तयारीमा। यसले मधेसी मोर्चा र एमालेका समर्थकविच मधेसमा झडपको जोखिम बढेको छ। मधेस प्रवेश गर्दाको जोखिमबारे एमाले नेतृत्व पनि जानकार देखिन्छ भन्ने संकेत उसले भित्रि मधेसमा २ वटा मात्रै सभा राख्नुले पनि देखाउँछ।

'संविधान संशोधन नगरी चुनाव घोषणा गर्न नहुने' भन्दै आएको मोर्चाले सरकारले चुनाव घोषणा गरेसँगै गत नौ गते आन्दोलन घोषणा गरेको थियो। मोर्चाले सरकारले चुनाव घोषणा गरेपछि त्यही दिन मधेसी मोर्चाले १० गतेबाट मोर्चाले आन्दोलन गरेको थियो।

मोर्चाले आन्दोलन घोषणा गरेको भोलीपल्ट एमाले अध्यक्ष ओलीले आफ्नो अभियान पहिले नै घोषणा भइसकेको भन्दै 'अवरोध गर्न खोजे सह्य नहुने' चेतावनी दिएका थिए। उनले भनेका थिए 'एमालेले घोषणा गरिसकेको कार्यक्रममा जुध्नेगरी कुनै कार्यक्रम नगर्न हामी सबैलाई आग्रह गर्छौ कसैले एमालेको कार्यक्रम भाड्न खोजे एमालेलाई सह्य हुँदैन।'

एमालेले भने आफ्ना कार्यक्रम यथावत राखेर शनिबारबाट सुरु गर्दैछ। एमालेको चेतावनीलाई मोर्चा समर्थकले चासो दिएको शुक्रबारको घटनाले पुष्टी गर्यो। 'संविधानलाई मधेसी जनताले मानेका छैनन् तर अहिले एमालेले त्यही संविधान जस्ताको तस्तै कार्यान्वयन गर्ने भनेर मेची-महाकाली अभियान सुरु गरेको छ,' राजविराजमै रहेका तमलोपाका केन्द्रीय सदस्य अमरकान्त झाले भने, 'चित्त नबुझेका जनताले मोसो दलेका होलान् मैले पनि सुने को संलग्न छन् थाहा छैन, तर मलाई मधेसी जनता नै हुन् भन्ने लागेको छ।'

समान्तर आन्दोलन लैजाँदा झडप हुँदैन भन्ने प्रश्नमा एमाले मधेस विभागका प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य सत्य नारायण मण्डलले एमालेको कार्यक्रममाथी आक्रमण गर्ने मधेसी नागरिक नभएको दावी गरे।
'मधेसी मोर्चा नेपाली नै हैनन्, त्यसबाट एमाले प्रभावित हुँदैन' उनले भने।

मधेसी मोर्चाले धम्क्याउने र अराजनीतिक गतिविधि गरिरहेको भन्दै उनले मर्नुपरे पनि कार्यक्रम परिवर्तन नहुने अडान लिए। 'तिनीहरु मनैदेखि नेपाली नै हैनन्, म पनि मधेसी हो उनीहरुले मधेसीको हवाला दिइरहेका छन् र विखण्डन गर्न खोजेका छन्,' मण्डलले भने, 'त्यस्ता असामाजिकको आन्दोलनले कार्यक्रम परिवर्तन हुँदैन । मर्नुपरे पनि हामी तयार छौ।'

तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल गत १० गते देखि नै मधेसी मोर्चाको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै बीचमा एमालेले अभियान शुरु गरेर निहुँ खोजेको आरोप लगाए। शुक्लले मोर्चाको आन्दोलनमा सबै पार्टीका स्थानीय नेता कार्यकर्ता सहभागि भइरहेको दावी गर्दै एमालेले जवर्जस्ति कार्यक्रम गरे एमालमै संलग्न मधेसी नेताहरु समेत विरोधमा उत्रिने जिकिर गरे।

'जुन संविधान मधेसी जनताले स्वीकार गरेको छैनन्, त्यसलाई नै मान्नुपर्छ भन्दै जाँदा उसका कार्यकर्ताले प्रतिकार नगरी बस्न सक्दैनन्,' शुक्लले भने, 'मोर्चा र अरु दलका कार्यकर्ता स्वभाविक रुपमा उत्रन्छन् । एमालले त्यहाँ जाने भनेको मधेसका जनताविरुद्ध उभिनु हो।'
 

यी हुन् जोखिम रहेका स्थान

मोर्चाले आन्दोलनको नेतृत्व जिल्लाकै नेताहरुलाई छोडेको छ। एमालेको अभियान जहाँ पुग्ने कार्यतालिका छ त्यहाँ-त्यहाँ एक दिन अघि देखि एक दिन पछिसम्म बन्दका कार्यक्रम घोषणाको तयारी छ।  एमालेको मेची-महाकाली अभियान तालिका अनुसार तेस्रो दिन एमाले दुई नम्बर प्रदेशमा प्रवेश गर्ने छ। मोर्चाको तयारी अनुसार एक दिन अघि देखि नै सप्तरी बन्द हुनेछ।

आगामी २३ गते एमालेको राजविराजमा जनसभा छ। त्यो सभामा सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुनसक्छ। २४ गते सिरहाको गोलबजारमा एमालेले कार्यक्रम गर्दैछ। राजमार्गमै भए पनि मधेसी मोर्चाको प्रभाव रहेको त्यो स्थानमा होलीको महोत्सवमा मधेसी मोर्चाका कार्यकर्ता भेला हुने तयारीमा छन्।

२५ गते राखेको जनकपुरमा एमाले सभा छ। मोर्चाको बन्द एक दिन अगावै सुरु हुने भएकाले त्यहाँसम्म पुग्न मोर्चाको बन्द छिचोल्नुपर्नेछ। सो क्षेत्र एमालेका लागि सहज नभएको केही दिन अघि एमाले उपाध्यक्ष बामदेव गौतम घेराउमा परेको घटनाले समेत देखाउँछ।

एमालेले २६ गते सर्लाहीको हरिपुर र गरुडामा सभा राखेको छ। ती दुबै स्थान मोर्चाको बलियो उपस्थिति रहेको स्थान हो। छैटौ दिन रौतहटको चन्द्रनिगाहपुरमा बास बस्ने योजना बनाएको एमालेले सातौ दिन बाराको जितपुरमा सभा राखेको छ।

सातौ दिनसम्मका कार्यक्रम शान्तिपूर्ण बनाउन सकेमा एमाललेका बाँकी कार्यक्रम भने त्यति जोखिमपूर्ण देखिदैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell