इटहरी : पूर्वाञ्चल र पश्चिमाञ्चलले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेका छन्। इटहरीस्थित डिभिएम स्कुलमा भएको प्रतिस्पर्धामा पूर्वाञ्चलले मध्यमाञ्चललाई र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गरे।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा पूर्वाञ्चलले टस जितेर पहिला ब्याटिङ् गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२४ रन बनायो। पूर्वाञ्चलका अपसरी वेगमले ४६ र रोमा थापाले ४२ रन बनाए। मध्यमाञ्चलकी आरती बिडारीले २ विकेट लिइन्।
जवाफी १२५ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल १३ ओभरमा ४७ रनमा अलआउट भयो। मध्यमाञ्चलका लागि कुनै पनि ब्याट्सवूमनले दोहोरो अंक बनाउन सकेनन्। पूर्वाञ्चलका लागि कप्तान रुविना क्षेत्रीले ३ र संगीता राईले २ विकेट लिए। वूमन अफ दी म्याच पूर्वाञ्चलकी रोमा थापा भइन्।
अर्को खेलमा पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई ४ विकेटले हरायो। पहिला ब्याटिङ् गरेको मध्यपश्चिमले १६ ओभरमा पूरै विकेट गुमाएर ६४ रन मात्र बनाउन सफल भयो। मध्य पश्चिमाञ्चलका लागि रविना ज्ञवालीले १२ रन जोडिन्।
पश्चिमाञ्चलका लागि सीमा थापा मगर तथा सविता जिसीले २/२ विकेट लिएका थिए।
जवाफमा पश्चिमाञ्चलले १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। वूमन अफ दी म्याच पश्चिमाञ्चलकी नितु भण्डारीले २९ रन र बर्षा रानाले १४ रन बनाए।
प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदू्रपश्चिमाञ्चल र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।
विजेताले एक लाख रुपैयाँ र उपबिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई दस हजार, बेस्ट ब्याट्सवूमन र बलरलाई पाँच–पाँच हजार नगदबाट पुरस्कृत गरिने छ। फाइनल फागुन २५ गते हुनेछ।