PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

हुलाकी राजमार्गबारे धनगढीमा देखिएको अन्योल हट्यो, निर्माणको काम चाँडै अगाडि बढ्ने



रासस

धनगढी : धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ।

प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो। प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कनसमेत गरिसकेको हुलाकी राजमार्ग आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले बताए।

मुख्य बजार क्षेत्र र घना बस्तीबाट राजमार्ग निर्माण गर्दा घरलगायत धेरै संरचना पर्ने भई लागतका दृष्टिमा त्यति उपयुक्त नहुने भएकाले बजारको बाहिरी भाग वडा नं २ र ८ हुँदै क्याम्पस चोक जोड्ने गरी हुलाकी राजमार्गको रेखाङ्कन गरिएको मण्डलले जानकारी दिए।

रेखाङ्कन गरिएको सो क्षेत्रबाट राजमार्ग निर्माण गर्दा क्याम्पस चोकदेखि मोहना पुलसम्म दुई पुलसहित जम्मा छ किमी लामो राजमार्ग निर्माण गर्नुपर्ने देखिएको छ। रेखाङ्कन गरिएको हुलाकी राजमार्गको यो खण्डको स्वीकृतिका लागि हुलाकी सडक आयोजना केन्द्रीय कार्यालयमा पठाइएको छ। स्वीकृत भएर आएपछि आगामी एक दुई महिनामा निर्माण अघि बढ्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell