बैतडी : बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन्।
तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो। आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए।
आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन्। फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ।
यसैबीच, राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ। आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनःसंरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो।