रत्ननगर (चितवन) : चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३/७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले चितवन लागुऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ।
देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकाले चितवनमा लागुऔषधको कारोबार बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।
चालु आवको माघ महिनासम्म चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ। त्यसैगरी २६ किलो गाँजा र १४ लिटर कोरेक्स बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
चालु आवको सात महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय चितवनले डाइजापाम नौ सय ६० एम्पुल, ब्रुफिनोर्फिन नौ सय ४८ एम्पुल, फेनारगन नौ सय ३८ एम्पुल, खैरो हिरोइन १७ ग्राम, नाइट्राजेपाम दुई सय ४६ ट्याब्लेट, स्पास्मो प्रोक्यभोन ३२ क्याप्सुलजस्ता लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
लागूऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। चितवनमा २०७३ साल साउनदेखि माघ महिनासम्ममा लागुऔषधसम्बन्धी विभिन्न ३५ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई पक्राउ गरेको छ।