PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

भारतबाट अवैध रुपमा चल्ला आउने क्रम रोकिएन, आठ महिनामा डेढ लाख चल्ला चितवन भित्रिए



रासस

रत्ननगर (चितवन) : भारतबाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन। पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला यसरी अवैध रुपमा चितवन भित्रिएको छ।
 
एकैपटक १८ हजारसम्म चल्ला अवैध रुपमा आएको पाइएको ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले जानकारी दिए। अघिल्लो वर्षभरिमा जम्मा ९३ हजार तीन सय ९० वटा चल्ला नष्ट गरिएकामा यो आर्थिक वर्षको आठ महिनामै डेढ लाख चल्ला नष्ट भएको हो।
 
अधिकारीले चालु आवको आठ महिनामा एक लाख ४७ हजार पाँच सय २० वटा कुखुराका चल्ला नष्ट गरेको र चल्ला बरामद गर्न उल्लेखनीय भूमिका खेल्ने प्रहरी तथा सहयोगीलाई रु ६ लाख ३६ हजार ६ सय पुरस्कारस्वरुप दिइएको जानकारी दिए।
 
'सम्भावित नाकाहरु वाच गर्ने र अनुगमन हामी आफैँ पनि गर्छौं, तर हाम्रो प्रयास मात्रै सम्भव नभएपछि पुरस्कार नै दिएर निगरानी थालिएको हो', सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले भने। यसरी कुखुराका चल्ला बरामद गर्ने प्रहरी या जो कसैलाई पनि कुखुरा व्यवसायीले पुरस्कारस्वरुप प्रतिचल्ला पाँच रुपैयाँ दिँदै आएका छन्। अवैध रुपमा चल्ला भित्रिएर विभिन्न रोग फैलन सक्ने भन्दै चल्ला आउन नदिन पुरस्कार घोषणा गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए। कुखुराका चल्ला अवैध रुपमा आउन नदिन व्यवसायीले समूह नै गठन गरेर निगरानी गर्दै आएका छन्।
 
हाल नेपालमा पोल्ट्री क्षेत्रमा ७५ अर्ब बढी लगानी छ। नेपालमा उत्पादनमा आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रमा कच्चापदार्थ भने आयात गर्नुपर्ने अवस्था छ। नेपालमा हाल २२ लाख वटा अन्डा उत्पादन हुन्छ भने प्रतिहप्ता २५ लाख ब्वायलरका चल्ला उत्पादन हुन्छ। एक लाख २० हजार लेयर्स चल्ला र दैनिक आठ लाख केजी मासु तथा दुई हजार सात सय मेट्रिक टन दाना उत्पादन हुँदै आएको सो क्रममा जानकारी दिइएको थियो। नेपालमा कुखुराजन्य उत्पादन चितवनमा सबैभन्दा धेरै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell