PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

मेची-महाकाली अभियानको विरोध गर्दै ठाकुरले भने- 'मधेस भड्कियो भने एमालेले जिम्मा लिनुपर्छ'



पहिलोपोस्ट

मेची-महाकाली अभियानको विरोध गर्दै ठाकुरले भने- 'मधेस भड्कियो भने एमालेले जिम्मा लिनुपर्छ'

काठमाडौं : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेको आरोप लगाउँदै यसले मधेसमा द्वन्द्व बढ्ने बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने, ‘अहिले मधेस अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भइरहेका छन्। यस्तो अवस्थामा एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ।' एमालेको अभियानले जनतामा गलत सन्देश प्रवाह भएको भन्दै उनले स्थितिलाई भड्काउने र उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्ने जिकिर गरे।

 ‘हामी अहिले शान्तिपूर्ण आन्दोलनमा छौं, यदि एमालेले लठ्ठी लिएर आए उसले मधेसमा नमस्कार पाउँदैन,’ ठाकुरको भनाइ थियो।
 
एमालेको अभियानलाई तपाईंहरुले प्रतिवाद गर्ने तयारी गर्नुभएको छ रे नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी कहाँ चुप लागेर बसेका छौं र? हामी त शान्तिपूर्ण आन्दोलनमै छौं। हाम्रो माग पूरा हुनुपर्छ, त्यसमै लागिरहेका छौं।’
 
संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै उनले संविधान संशोधन को विकल्प नभएको बताए। 'हामीले उठाएका मागहरु मधेसका मात्रै होईनन, यी त देशकै माग हुन्,' उनले थपे, 'त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell