विर्तामोड (झापा) : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन हुन नसके संविधानसभाबाट जारी भएको संविधान असफल हुने बताएका छन्।
सो पार्टीले आजबाट सुरु गरेको मेची महाकाली अभियानअन्तर्गत विर्तामोडमा आयोजित जनसभामा उनले भने- ‘परिवर्तनलाई संस्थागत गर्न संविधान कार्यान्वयन र समयमा निर्वाचन हुनु अनिवार्य छ।’
नेता खनालले एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानले संविधान कार्यान्वयन र निर्वाचन गराउनका लागि दबाब सृजना गर्ने बताए।
सो अवसरमा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका कार्यकर्तालाई पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा नेताद्वय खनाल र माधवकुमार नेपालसहितले स्वागत तथा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान पनि गरे। रासस