
नेपालगन्ज : भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड भिजन कोहलपुर विजयी भएको छ।
शनिबारदेखि नेपालगन्जमा सुरु प्रतियोगिताको पहिलो युनाईटेड भिजन कोहलपुरले घरवारी टोल युवा क्लबलाई ५ रनले पराजित गर्यो।
नेपालगन्जको मंगलप्रसाद उच्चमाविमा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युनाईटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। उसका लागि संदीप नेपालीले ३६, सागर शाहीले २६ तथा सुजित आचार्यले २० रनको योगदान गरे।
घरवारी टोलका सौरभ पाण्डेले ३ तथा अमर श्रेष्ठले २ विकेट लिए।
जवाफमा १ सय ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरवारी टोलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो।
म्यान अफ म्याच घोषित घरवारी टोलका सितांसु पाण्डेले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त भएन।
यस्तै लागि अरमेश सोनीले २३ तथा सिद्धार्थ थापाले २० रन बनाए। घरबारी टोललाई जितबाट रोक्न युनाईटेडका मनोज केसीले २ तथा सुनील खड्का र प्रवेज खानले समान १ विकेट लिए।
सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोष रकमबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ।
शनिबार सांसद मैकुलाल बाल्मिकिले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरे।
२०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता २०५४ यता हुन सकेको थिएन।
(फोटो : जाभेद अहमेद)