दमक : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरेको बताएका छन्।
संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत शनिबारको कार्यक्रमपछि पत्रकार भेटघाटमा भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि गरिए सह्य नहुने बताए।
‘यो पृथ्वीनारायण शाहपछिको आधुनिक नेपाल एकीकरण अभियानको भाग–२ हो। राष्ट्रघातविरुद्धको अभियान पनि हो। यसमा कसैले चित्त नबुझे हाम्रो सभा भएको भोलिपल्ट त्योभन्दा ठूला कार्यक्रम गरेर आफ्ना कुरा जनतालाई भन्दा हुन्छ’ उनले भने ‘मधेसी मोर्चा र मधेसका मुद्दा एकै सिक्काका दुई पाटा होइनन्। हामी मोर्चाले अघि सारेको संविधान संशोधनको मुद्दामा सहमत छैनौँ।’
मोर्चाका कार्यकर्ताले आफ्ना सप्तरीका जिल्ला नेता प्रतापनारायण चौधरी र शम्भु यादवलाई शुक्रबार अभद्र व्यवहार गरेको एमालेको आरोप छ।
उनले अभियानलाई सुरक्षा दिने काम सरकारको भएको भन्दै यसमा कुनै अवाञ्छित क्रियाकलाप भए मानवअधिकार उल्लङ्घनको रुपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुगमनका लागि आग्रह पनि गरिएको जानकारी दिए।
उनले झापाका कार्यक्रममा करिब डेढ लाखको उत्साहजनक सहभागिता रहेको पनि दाबी गरे। रासस