
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनअघि बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको सम्भावना समेत तत्काल नरहेको बताएका हुन्।
प्रचण्डले सरकार फेर्ने विषयले निर्वाचन प्रभावित हुने समेत बताए।
उनले भने ‘आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन। गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन्। तर, ती सत्य होइनन्। स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ। तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन।’
प्रधानमन्त्रीले स्थानीय निर्वाचनका लागि आवश्यक न्युनतम कानुन बनाएरै मिति घोषणा गरिएकाले कानुन अभाव नहुँने बताए। विचाराधीन विधेयक संसद्ले चाडै पारित गर्ने उनले दाबी गरे।
उनले भने ‘न्यूनतम आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो। ऐनहरु बनेका छन्। अरु केही ऐन पनि पारित गर्नुपर्नेछ। तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन। संसद् खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन्।’
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव समितिको सिफारिस आइसकेकाले उक्त प्रतिवेदन आइतबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने प्रधानमन्त्रीको भनाई छ।
उनले स्थानीय तहपछि प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिने बताए। आउँदो कार्तिक वा मंसिरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्ने सरकारको तयारी रहेको बताए। निर्वाचन नगरेर संसद्को म्याद थप गर्न नसकिने उनको भनाई छ।
राप्रपाले विचाराधीन संविधान संशोधन प्रस्तावमा मतदान नगर्ने स्पस्ट पारेका कारण तत्काल मतदानको प्रक्रियामा नलगिएको प्रधानमन्त्रीको भनाई छ। राप्रपा समेत संशोधनको विपक्षमा हुँदा प्रस्ताव फेल हुने निश्चित रहेको उनको बताए। प्रस्ताव फेल गर्ने पक्षमा सरकार नरहेकाले तत्काल मतदान प्रक्रियामा नलगिएको प्रधानमन्त्रीको भनाई छ।