PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

​निर्वाचनको तापक्रम बढ्दा, प्रमुख आयुक्तलाई आयो ज्वरो



पहिलोपोस्ट

​निर्वाचनको तापक्रम बढ्दा, प्रमुख आयुक्तलाई आयो ज्वरो

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवलाई ज्वरो आएको छ। आइतबार केही समय कार्यालय आएका यादव ज्वरोका कारण आरामका लागि घरतर्फ फर्किएका छन्। 

‘म ज्वरोका कारण समस्यामा छु आराम जरुरी भएकाले घर जाँदैछु,’ प्रमुख आयुक्त यादवले भने’, ‘म ठीक भएर मात्र पूर्ण रुपमा खट्न सक्नेगरी फर्कनेछु।’ 

यादवले जरुरी काम परेकाले मात्र नसकी–नसकी आइतबार आयोग आएको बताए।  

अहिले प्रमुख आयुक्त यादवलाई लागेको मौसमी ज्वरो जस्तै आयोगलाई पनि स्थानीय तह निर्वाचनको ‘ज्वरो’ लागेको छ। 

प्रमुख आयुक्तलाई आराम आवश्यक परे डाक्टरले औषधि सिफारिस गर्न सक्छन्। तर स्थानीय तह चुनावका लागि भने त्यस्तो डाक्टर र औषधि फेला परिसकेको छैन। 

सामान्यतया, निर्वाचन आयोगले कुनै पनि चुनावका लागि न्युनतम एक सय २० दिनको समय माग्ने गर्छ। तर आयोगले यो पटक ८२ दिनमा चुनाव सम्पन्न गर्न रफ्तारमा काम अघि बढाएको छ।

संसदीय चुनावभन्दा धेरै थरी मतपत्र छाप्नु पर्नेदेखि मतदान केन्द्र बढी बनाउने र एकै पटक धेरै कर्मचारी परिचालन गर्नेदेखि वडा तहसम्म फरक मतपत्र प्रयोग गर्नुपर्ने काम आयोगले गर्नुपर्छ। 

फागुन ९ गते सरकारले चुनाव घोषणा गरे पनि कहाँ चुनाव गर्ने भनेर निर्वाचन आयोगलाई अहिलेसम्म पत्तो छैन। ‘निर्वाचनका लागि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन चाडो भन्दा चाडो आयोगलाई उपलब्ध गराउन आवस्यक छ’, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले फागुन १० मा नै भनेका थिए, ‘सरकारले त्यो प्रतिवेदन उपलब्ध गराए मात्र आयोगले कहाँ चुनाव गराउने कति मतदान केन्द्र हुने लगायका धेरै विषयमा निर्णयमा पुग्न सक्छ।’ 

त्यही बेलादेखि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुन पनि सरकारसँग मागिरहेको छ। तर, आयोगले राजनीतिक दलसम्बन्धी कानुन समेत पाएको छैन। ‘सरकार निर्वाचन कानुन पास गर्न संविधान संशोधनमा साना दलको मुख हेरेर बसिरहेको छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन, ‘संविधान संशोधन नहुँदासम्म थ्रेस होल्ड राख्नुपर्ने हुनाले राजनीतिक दलसम्बन्धी कानुन पारित हुने अवस्था छैन।’ 

कानुनी संरचना तयार नभए पनि आयोगले कार्यतालिकादेखि आचारसंहिता जारीसम्मका काम सम्पन्न गरेको छ। प्रमुख आयुक्तदेखि आयुक्तसम्मले निर्वाचन तोकिएको मितिमा हुन्छ, संभव छ भनेर भनिरहेका छन्। तर, आयोगसँग अब करिव साढे दुई महिनाको समयमात्र बाँकी छ। 

घटनाक्रमले प्रमुख आयुक्त यादवलाई आएको ज्वरो निको भए पनि आयोगलाई लागेको निर्वाचनको ज्वरो भने तत्काल निको हुने अवस्था छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell