PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

आफ्नो बायोपिक बनेको हेर्न चाहन्छिन् मनीषा कोइराला



पहिलोपोस्ट

आफ्नो बायोपिक बनेको हेर्न चाहन्छिन् मनीषा कोइराला

'बम्बे', 'खामोसी द म्युजिकल' र 'दिल से' जस्ता उत्कृष्ट फिल्महरुका माध्यमबाट दशर्कको मन जितिसकेकी नायिका मनीषा कोइराला यी फिल्मका लागि समीक्षकहरुबाट प्रसंशित पनि भइसकेकी छिन्। अब उनी हिन्दी सिनेमाको पर्दामा एक अविस्मरणीय नायिका बनेर देखा पर्दै छिन्। 

हिन्दी बिबिसीले जनाए अनुसार उनी अभिनेता सञ्जय दत्तमाथि बनिरहेको 'दत्त' नामक बायोपिकमा सञ्जयकी आमा नरगिसको भूमिका निभाउँदै छिन्। नरगिसको मृत्यु क्यान्सरबाट भएको थियो। मनीषा स्वयं यो रोगसित लडिसकेकी छिन्। यस फिल्ममा नरगिसको भूमिकालाई लिएर उनी उत्साहित भएकी छिन्।


'नरगिस दत्तजीको भूमिका निभाउनु कुनै सपनाजस्तै हो। यो मेरा लागि सम्मानको कुरो हो। मेरो काँधमा ठूलो जिम्मेवारी छ। आशा छ कि म यो भूमिकामाथि न्याय गर्न सक्नेछु,' मनीषाले भनिन्, 'यस फिल्मका लागि राजु सरसित भेटेर मलाई निकै खुसी लागेको छ। उनीसित एउटा राम्रो टीम छ र मेरा लागि यो एक भव्य अवसर हो।' 

मनीषाले सञ्जय दत्तकी हिरोइन बनेर धेरै फिल्ममा उनीसँग काम गरिसकेकी छिन्। यसमा 'महबुबा', 'खौफ', 'बाग़ी' र 'कारतोस' जस्ता फिल्म समेटिएका छन्। तर सञ्जयमाथि बनिरहेको बायोपिकमा मनीषा उनकी हिरोइन होइन आमा बन्दैछिन्। 

'सञ्जु बाबा मेरो बचपनका क्रश रहेका छन्। मलाई उनीसँग केही फिल्ममा काम गर्ने मौका मिल्यो। उनकी बहिनी प्रियादत्तप्रति मेरो मनमा ठूलो सम्मान छ। हामी दुवै क्यान्सरका बिरामीसित जोडिएका कामको लागि भेटघाट गरी नै रहन्छौँ,' उनले भनिन्। आमा नरगिसको भूमिकामा प्रस्तुत हुन पाउँदा ज्यादै खुसी लागेको उनले बताइन्। 


नेपालको राजनीतिक घरानाबाट नायिका बन्नु, सम्बन्ध विच्छेद हुनु र क्यान्सरबाट फिर्ता हुनुसम्म मनीषाको अहिलेसम्मको जीवन आफैँमा एउटा फिल्मको कहानीजस्तै रहेको छ। यस्तो बेलामा के मनीषा आफैमाथि बायोपिक बनेको देख्न चाहन्छिन्? 

उनी भन्छिन्, 'हो किन नहुनु, म जरुर आफ्नो बायोपिक बनेको हेर्न चाहन्छु। तर अहिले होइन, म बाँचिरहे भने २० वर्षपछि।' 

आफ्नो भूमिकामा उनी आजकी अभिनेत्रीहरुमध्ये आलिया भट्ट अथवा कंगना रनावतलाई पर्दामा हेर्न चाहन्छिन्।

'आलिया भट्ट जति सुन्दर छिन्, त्यत्ति नै नेचुरल एक्टर पनि। उनका अतिरिक्त कंगना रनावत पनि निकै ट्यालेन्ट र बलियो सङ्कल्प भएकी महिला हुन्। यी दुवै नायिकाले मेरो भूमिका राम्रोसँग निभाउन सक्छन्,' उनको मूल्यांकन छ।



१९९१ मा फिल्म 'सौदागर' बाट हिन्दी सिनेमामा पाइला राखेकी मनीषाले फिल्म 'बम्बे', 'खामोसी द म्यूजिकल' र 'कम्पनी' का लागि तीन पटक फिल्मफेयर क्रिटिक्स अवार्ड पाइसकेकी छन्। जत्रो सफलता उनलाई कमर्शियल फिल्मबाट मिल्यो, रियलिस्टिक सिनेमामा पनि उनी त्यत्तिकै मन पराइन्। तर पनि रियलिस्टिक फिल्ममा विना मेकअप आउँदा उनलाई निकै डर लाग्थ्यो। 


'म निकै असुरक्षित थिएँ कि मेकअपविना म कस्ती देखिनेछु। मलाई २-३ घण्टाको मेकअपपछि स्क्रिनमा आउने बानी थियो। यस्तो अवस्थामा रियलिस्टिक सिनेमाको कुरा आएपछि मैले केही पनि बुझिरहेकी थिइनँ। म चुपचाप मेकअप गर्दथे। तर पछि नक्कल गरेको पत्ता लागिहाल्थ्यो र डायरेक्टरले सबै मेकअप निकालिदिन्थे। पछि मैले कुरा बुझेँ कि केही विशेष प्रकारका सिनेमाको लागि मेकअप आवश्यक छैन,' उनले सुनाइन्।

२०१२ मा नेपालका व्यापारी सम्राट दाहालसित मनीषाको सम्बन्धविच्छेद भएको थियो। त्यसको केही समयपछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो। मनीषाको उपचार न्यूयोर्कको त्यही अस्पतालमा भएको थियो जसमा नरगिस दत्तको उपचार चलिरहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell