PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

डडेल्धुराका ग्रामीण सडक मापदण्ड विपरीत, ज्यान जोखिममा राखेर यात्रा



रासस

डडेल्धुराका ग्रामीण सडक मापदण्ड विपरीत, ज्यान जोखिममा राखेर यात्रा

डडेल्धुरा : डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन्। पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन्।
 
डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन्। यातायात सञ्चालनका लागि जुन मापदण्डअनुसार सडक निर्माण हुनुपर्ने हो सो अनुसारका नभएको जिल्लामा सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले बताए।
 
उपभोक्ता समितिका पदाधिकारीले आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरेका कारण यातायात सञ्चालनको मापदण्डअनुसार सडक निर्माण नभएका हुन्। जिविसदेखि संसद् विकास कोषको रकमबाट निर्माण भएका बढी जसो सडक मापदण्ड अर्थात् ग्रेड नमिलाई निर्माण हुने गरेका छन्।
 
प्राविधिकको परामर्शसमेत नलिई आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरिएको छ । अधिकांश ग्रामीण सडकमा ज्यान जोखिममा राखेर यातायात सञ्चालन गर्नु परेको चालकको भनाइ छ।
 
राजनीतिक दबाबले आफ्नो पायक पर्ने स्थानमा सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन नसकिरहेका स्थानीयवासीको भनाइ छ। डडेल्धुरा जिल्लाका १८ गाविस र दुई नगरपालिकामा करिब तीन दर्जन ग्रामीण सडक रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell