
काठमाडौं : सुन तस्करीमा पक्राउ परेका १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।
गएको पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे प्रहरीले अनुसन्धान थालेको थियो। सो क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको थियो।
उनीसहित पक्राउ परेका अन्य ११ जनाको नाम आज सार्वजनिक गरिएको हो। तस्करमा संलग्न भएकाहरुमा गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ छन्।
केन्द्रीय अनुसन्धान ब्युरोमा गरिएको पत्रकार भेटघाटमा नाम सार्वजनिक गर्दै डिआइजी नवराज सिलवालले पहिलो चरणको अनुसन्धान सुरु भएको बताएका छन्। तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएकाले त्यहाँका प्रहरीसँग समन्वय गरी पक्राउको प्रयास भइरहेको पनि उनले बताएका छन्। फरार रहेकाहरुमा हरिशरण खड्का, रोशन भुसाल, अर्जुनप्रसाद खरेल, भोला मगर रहेका छन्।
विमानस्थलबाट अवैध सुन कटाउन एक किलोमा ५० हजारदेखि ८० हजारसम्म लिने गरेको खुलेको छ। त्यस्तै भन्सारका तल्लो तहका कर्मचारीले एकचोटिमा एकमुष्ट एक लाखदेखि दुई लाख रुपैयाँ लिने गरेको डिआइजी सिलवालले बताए। यसैगरी विमानस्थलमा रहेको एक्सरे मेसिन टेक्निसियन राजकुमार ढकालले सुन तस्करीका मुख्य व्यक्तिलाई सुन आइसकेको वा पास भइसकेको जानकारी फोनमार्फत गराउने गरेका थिए।