
काठमाडौं: फिल्म रुट नं २३ मा सौगात मल्ल र नम्रता श्रेष्ठ मूख्य भुमिकामा देखिने भन्दै फिल्म युनिटले अनावश्यक हल्ला फैलाएको छ। फिल्म पर्वको सुटिङ सक्काएर फुर्सदमा रहेकी नम्रताले आफूले कुनै पनि नयाँ फिल्म साइन नगरेको बताएकी हुन्।
नम्रताले फिल्म रुट नं २३ बारे पहिलोपोस्टसँग भनिन्,'अनावश्यक हल्ला मात्र हो। यो फिल्ममा मेरो भूमिका बारे लेखिएका कुनै पनि कुरा आधिकारीक होईनन्।'
फिल्म छड्केमा एकसाथ देखिएपछि यी दुई कलाकाहरु कुनै फिल्ममा सँगै देखिएका छैनन्। तर फिल्म युनिटले यि दुई फिल्मको शिर्ष भूमिकामा रहने दाबी गर्यो। निर्देशक समिर बलामीले पहिलोपोस्टसँग भने,'फिल्म साइन गरेका छैनन् तर फिल्ममा नम्रता र सौगात देखिने स्योर हो।'
नम्रता श्रेष्ठले समाचार गलत भएको पुष्टि गरेपनि फिल्म युनिट बैशाख दोश्रो साताबाट सुटिङका लागि फ्लोरमा निस्कने बताउदै आएको छ। रंग पत्रकार तथा निर्देशक समीर बलामीले निर्देशन गर्ने फिल्ममा नायक सौगात मल्ल, नायिका नम्राता श्रेष्ठ, बुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लगायतको अभिनय रहने युनिटले उपलब्ध गराएको नोटमा उल्लेख गरिएको छ।
विकास श्रेष्ठ र दिपेन्द्र शाक्यको निर्माण रहने भनिएको फिल्म फागुनबाटै फ्लोरमा जाने बताईएको थियो। तर फिल्मको निर्माण प्रक्रिया अघि बढेको थिएन। अब पुन: नयाँ फ्लोर डेट सहित फिल्म बन्ने हल्ला निर्माण युनिटले गरेपनि कलाकारले सबै हल्ला मात्र भएको बताएका छन्।