काठमाडौँ : निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज एक पत्र पठाउँदै आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आग्रह गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आयोगले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पनि शीघ्र आयोगलाई पठाउन भनेको छ।
शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सहयोग पुर्या उन यसअघि आयोगले नेपाल सरकारलाई १९ बुँदे निर्देशन तथा शान्ति सुरक्षा व्यवस्थित गर्नका लागि गृह मन्त्रालयलाई चार बुँदे निर्देशन दिइसकेको पनि स्मरण गरिएको छ।
‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि अन्तिम तयारी गर्न आवश्यक पर्ने स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन शीघ्र आवश्यक रहेको व्यवहोरासमेत नेपाल सरकारलाई अनुरोध गरिसकिएको र सो प्रतिवेदन शीघ्रातिशीघ्र प्राप्तिको प्रतीक्षमा आयोग रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
‘निर्वाचनका प्रमुख सरोकारवाला राजनीतिक दलहरुको आपसी सहयोग, समन्वय, सहमति, समझदारीबाट मात्र निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न सहज वातावरण निर्माण हुने भएकोले राजनीतिक दलहरुबाट उल्लेखित वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्नेमा निर्वाचन आयोगले विश्वास लिएको छ’, विज्ञप्तिमा उल्लेख छ।
आयोगले तयार पार्यो कार्यतालिका
यसैबीच निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि व्यवस्थापन कार्यतालिका तयार पारेको छ। कार्यतालिका अनुसार चैत १० गतेसम्म मतदान केन्द्र तोकिसक्ने र चैत २० गतेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकिनेछ।
वैशाख ३ गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाउने र कार्यालय स्थापना गर्ने काम हुनेछ।
वैशाख ७ गतेभित्र स्थानीय तहको निर्वाचनका लागि सबै मतपत्र छपाइ गरिसक्ने कार्यतालिका निर्वाचन आयोगको छ।
मतदाता नामावली वैशाख १० सम्म सदरमुकाम पुर्यानइसकिनेछ भने वैशाख १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।
वैशाख १६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, सूची प्रकाशन गर्ने, १७ गते विरोधमा उजुरी दिने, १८ गतेसम्म मनोनयपत्र जाँच गर्ने र नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिने र १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
वैशाख २८ गते मतदान हुने सबै बुथमा सम्पूर्ण तयारी सकिसक्ने कार्यतालिका छ भने वैशाख ३१ गते मतदान हुनेछ।